काठमाडौँः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार बेलुका सुन्धारास्थित सिडिसी सिनेमामा छोरी मानुषी भट्टराईसँगै चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । यो चलिचत्र हेरेपछि उनले यसको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् । फिल्म हेर्दै उनले द रेड सुटकेस जस्तो फिल्म आजसम्म कतै पनि नहेरेको प्रतिक्रिया उनले दिए । फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले द रेड सुटकेसको शैली प्रति जिज्ञाषा राखेका थिए । उनले यो चलचित्रलाई फरक र अनौठो सिनेमाको सँज्ञा दिए ।
‘यस्तो खाले नेपाली सिनेमा पहिले कहिलै बनेको छ ? कस्तो सिनेमा भन्छन यसलाई ?’ बाबुरामको प्रश्न थियो । जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर सिनेमा बनाएको उत्तर दिएपछि बाबुरामले थपेका थिए, ‘ग्याब्रियल मार्खेजको जस्तो हैन त ?’ फिडेलले बाबुरामको ठम्याइमा सहमति जनाएका थिए ।
बाबुरामले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्यहरु पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए । फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराएका थिए ।
बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषी भट्टराईले भने फिल्म नेता तथा नीति निर्माण गर्ने ओहदामा बसेका सबैले अनिवार्य रुपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।
‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा फिल्मले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’ मानुषीको भनाइ थियो ।
चैत ३० गतेबाट मुलुकका ४ दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको चलचित्र द रेड सुटकेसले बलियो वर्ड अफ माउथ पाएको छ । लेखक, कवि तथा कलाकारले चलचित्रको मुक्तकण्ठले प्रशंसा गर्दै चलचित्रले कलात्मक फिल्म निर्माणको इतिहासमा नयाँ मानक स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।
आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।