काठमाडौंः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आइतबारबाट ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी सुरु भएको छ । 

प्रतिष्ठानको आयोजनामा भएको सो प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहका बीच उद्घाटन गरे । 

कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताए । उनले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भिर असरलाई उजागर गर्न खोजेको जनाए । 

उनले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराए । कुलपति हार्तम्छालीले उनले भने, ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रुपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो ।’ उनले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको विचार व्यक्त गरे । 

Himalko Rahasya 13

कुलपति हार्तम्छालीले नेपालको मौलिक पहिचानसँगै पर्यटनमार्फत सांस्कृतिक अर्थ–समृद्धि मात्रै होइन हिमवत्खण्ड साथै विश्व वातावरण र जैविक विविधताको सार सन्तुलनको मुख्य आधार पनि हिमालय रहेको जिकिर गरे । उनले मानवको प्रकृतिसँग सम्बन्ध, विरासतदेखि आधुनिक समय तथा भविष्यसम्मको सन्तुलन, नियमितता र शान्तिपूर्ण जीवनमोक्षका साथै पुस्ता हस्तान्तरणार्थ जगाधारको बिम्बसार पनि हिमाललाई नै मान्न सकिने झलकहरू कलाकारका चित्रकलामा विभिन्न रेखा, आकार र रङको ढङ्गहरूले देखाउने प्रयास गरिएको जनाए ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हिमाल जीवन र जगतसँग जोडिएको विषय भएको बताए । उनले हिमाल भए पानी हुने र पानी भए जीवन हुने भन्दै जलवायु परिवर्तनले नेपाललगायतका पर्वतीय देशहरूमा परेको असरलाई गम्भिर रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उपकुलपति लामाले भने, ‘हिमाल बचाउन यसका बारेमा सबैले आ–आफ्नो ठाउबाट सचेत ढंगले लाग्नु पर्दछ । कलाकारले चित्रमार्फत यो अभियानलाई उजागर गर्ने कोसिस गरेका छन् ।’ 

Himalko Rahasya 12

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदर्शनीमा जलवायु परिवर्तनले पारेको प्रभाव र कालोपत्थर बन्दै गइरहेका हिमालका विषयलाई कलाकारले कलात्मक रुपमा उधिनेको धारणा राखे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ औँ जलवायु परिवर्तनसम्बन्धी  ‘कोप २८’ सम्मेलनमार्फत उठाएको एजेन्डालगायतका विविध विषय कलामा समेटिएको बताए । सदस्य सचिव थुम्केलीले प्राणीजगतको जीवनसँग हिमाल जोडिएकाले पछिल्लो समय जलवायु परिवर्तनले यसमा पारेको गम्भिर असरबारे सम्बद्ध सबै सचेत हुनेपर्ने विचार व्यक्त गरे । उनले भने, ‘हिमाल बचाउन विश्वको ध्यान आकृष्ट गर्न कला प्रदर्शनी गरिएको हो ।’

‘हिमालयको रहस्य’ प्रदर्शनीमा अनिता भट्टराई, एन्जिला जोशी, अर्पिता पराजुली, अरुणा हिङमाङ, बिआर श्रेष्ठ, भिमकुमार श्रेष्ठ, भिम सुब्बा तामाङ, बिक्कुकुमार थापा, विनोदकुमार गुप्ता, विपना महर्जन, दामोदर बराल, डिबी भण्डारी, देवेन्द्र थुम्केली, दिनेश थापा मगर, दिनेश्वर महतो, दिपेश नेपाली, गजेन्द्रमान श्रेष्ठ, गणेश लामा, गौरवरत्न बज्राचार्य तुलाधर, गौतमरत्न बज्राचार्य तुलाधर, इन्दु पन्त, जुजुकाजी श्रेष्ठ, ज्योति खड्का श्रेष्ठ, केशव राज खनाल, किशोर नकर्मी, किशोर रानाभाट, कृष्ण लामा, लालकाजी लामा, लिलाधर के.सी., महेश आचार्य, माइला दोङ, मोहन शिवाकोटी, नरबहादुर बि.के., नारदमणि हार्तम्छाली, नेमबहादुर तामाङ, ओमप्रकाश गुरुङ, प्रदिप अधिकारी, प्रकाश मिजार, प्रमिला बज्राचार्य, प्रितम थापा, रविन्द्र मानन्धर, राजप्रकाशमान तुलाधर, राजन महर्जन, राजकुमार राना मगर, रामबहादुर ठाडा, रमेशनाथ खनाल, रिनु श्रेष्ठ, रोशन खत्री, रूवी महर्जन, रुद्रबहादुर पुन, रूपक राई, रुशा बज्राचार्य, सम्झना राजभण्डारी, संगी श्रेष्ठ, संजय वान्तवा, सरुना देवी महर्जन, सौरगंगा दर्शनधारी, श्रेया हाडा श्रेष्ठ, सिकन्दर चौधरी, सुवास ‘क्षितिज’ श्रेष्ठ, सुदन श्रेष्ठ, सुमन श्रेष्ठ, सुरक्षा वाग्ले, सुरेम देशार, सुश्मा श्रेष्ठ, सुस्मिता कुँवर, क्षितेन शेर्पा, छिरिङ फोन्जो गुरुङ, उसिना महर्जन लगायतका कलाकार सहभागी छन् । यस्तै, ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीमा उद्धव रिमाल (समसामयिक चित्रकला), विनय रिमाल (प्रतिस्थापन कला), रिसिता खत्री (समसामयिक मूर्तिकला), नम्रता सिंह (लोककला) र राजप्रकाश मान तुलाधर (परम्परागत चित्रकला) ले सहभागिता जनाएका छन् । ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशव राज खनाल र क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गरेका छन् । 

Himalko Rahasya 8

‘कोप २८’ अर्थात २८औँ विश्व जलवायु सम्मेलन २०२३ नोभेम्बर ३० देखि १२ डिसेम्बरसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न भएको थियो । संयुक्त राष्ट्र सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । सम्मेलनबाट फर्किएपश्चात् प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २८’  प्रभावकारी भएको  र नेपालले यस पटक आफ्ना एजेन्डा प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताएका थिए । यस्तै, उनले जलवायु परिवर्तनको असर भोगेको नेपालले त्यसबापतको क्षतिपूर्ति पाउनुपर्ने र त्यसको प्राथमिकता प्राप्त देशको सूचीमा नेपाललाई समावेश गरिएको जानकारी संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिया गुटेरसले आफूलाई गराएको बताएका थिए । यस सम्मेलनमा नेपालले आफ्नो अधिकारको बारेमा प्रष्ट रूपमा आफ्नो धारणा राखेको थियो ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरस २०८० कार्तिक १२ गते नेपालको चारदिने भ्रमणका लागि आएका थिए । यसक्रममा उनले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रको भ्रमण गर्दै नेपाललगायतका देशको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर गरेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले म हिमालको काखमा छु, यहाँ व्यापक रूपमा हिमालहरू पग्लिएका छन् ।’ महासचिव गुटेरसको नेपाल भ्रमणले विश्वमञ्चमा नेपाललगायतका देशको हिमाली क्षेत्रमा परेको असर र प्रभावबारे आवाज प्रभावकारी रूपमा उठेको थियो ।

Himalko Rahasya 2

यसअघि वि.सं २०६६ मंसिर १९ गते सगरमाथा क्षेत्रको आधार शिविरमा औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक गरेर १० बुँदे घोषणापत्र जारी गर्दै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वको ध्यानाकर्षण गरेको थियो । यस बैठकपश्चात् (मङ्सिर २२ गते–पुस ३ गते सम्म) डेनमार्कको कोपनहेगनमा सम्पन्न ‘कोप १५’ मा नेपाललगायतका पर्वतीय देशका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो ।

माथि उल्लेख गरिएका विविध विषयलाई उठान गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेबाट ७ गतेसम्म ‘हिमालयको रहस्य’ चित्रकला प्रदर्शनी गरेको जनाएको छ । कलाकारले आफ्ना कलाकृतिमार्फत जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको असरलाई उठाएका छन् । वैशाख ७ गतेसम्म चल्ने यस प्रदर्शनीमा ६९ कलाकारका कलाकृति समावेश गरिएको छ ।