धरान/ छोटो बिदा मिलाएर अष्ट्रेलियाबाट नेपाल आएकी शोभा राई गएको साता आफन्त र कलेजका साथीहरू भेट्न धरान आइन् । साथीहरू भेट्नुअघि आफन्तजनसँग भेडेटार गएकी उनी नमस्ते झरनामा रमाउन भन्दै गइन् । तर, निराश भएर फर्किइन् ।

झरनामा रमाउँदै गरेका एक पर्यटकको झरनामा पानीसँगै झरेको ढुंगा लागेर मृत्यु भएपछि जेठ अन्तिम सातादेखि नमस्ते झरनामा पर्यटकलाई प्रवेश प्रतिबन्ध लागेको छ । यो कुरा अष्ट्रेलियाबाट आएकी शोभा र उनका आफन्तजनलाई थाहै थिएन । झरनामा रमाउन नपाएको खल्लोपन लामो समय रहेन । आफन्तजनसँग भेडेटारबाट फर्किएलगत्तै उनी कलेजका साथीहरूसँग धरानको वडा नं ४ मा अवस्थित शिवजट्टा झरना पुगिन् । जहाँ उनले नमस्ते झरनामा रमाउन नपाउँदाको खल्लोपन मेटाइन् । ‘नमस्ते झरनामा जान नपाइने रहेछ, थाहै थिएन । गाडी रिजर्ब गरेर गएका थियौं, कस्तो खल्लो भएको थियो,’ शिवजट्टामा पुगेर फर्किएकी उनले भनिन्, ‘धरानमै यति राम्रो झरना रहेछ, कस्तो रमाइलो भयो । नमस्तेको तिर्सना मेटायो ।’

शोभा त एक प्रतिनिधि पात्र मात्र हुन् । जेठ अन्तिम सातादेखि प्रतिबन्ध लागेपछि नमस्ते झरनामा रमाउन नपाएका पर्यटकहरू निराश भई भेडेटारबाट फर्कने गरेका छन् । ती पर्यटकहरूलाई धरानकै शिवजट्टा झरनामा पु¥याउने हो भने नमस्तेको तिर्सना मेटाउन पाउँछन् भने धरानको पर्यटन विकासमा पनि ठूलो टेवा पुग्नेछ । तर, यसतर्फ पर्यटनसम्बद्ध निकाय, पर्यटनकर्मी तथा राज्यले पनि ध्यानै दिएको छैन ।

धरानको जिरोपोइन्टबाट करिब ४ किलोमिटर पूर्वमा अवस्थित शिवजट्टा झरनाबारे धरानकै अधिकांशलाई जानकारी छैन । पर्यटनको प्रचुर सम्भावना बोकेर पनि शिवजट्टा ओझेलमा छ । थाह पाएका थोरै धराने युवाहरू मात्र त्यहाँ पुग्छन्, र नमस्ते झरनाको तिर्सना मेट्छन् ।

सेक्ष ट्राभलिङका सञ्चालक एवं पर्यटनकर्मी वासुदेव बरालका अनुसार निजी क्षेत्रले पर्यटकहरूलाई गन्तव्यसम्म पु¥याउने मात्र काम गर्छन् । गन्तव्यसम्म पुग्ने सहज सडक सञ्जाल निर्माण, पहुँच तथा प्रवद्र्धनको काम सरकारी निकाय एवं स्थानीय तहको हो । अहिले नमस्ते झरनामा प्रतिबन्ध लाग्दा झरनामा रमाउन नपाएका पर्यटकहरूलाई शिवजट्टामा लैजान सके धेरै फाइदा हुने उनको भनाइ छ ।

‘प्रवद्र्धन गर्नुपर्छ, त्यसमा निजी क्षेत्रले लगानी गर्न सक्दैन, स्थानीय तह र पर्यटनको सरकारी निकायले नै गर्नुपर्छ’, उनले भने, ‘धरान भित्रकै झरनासँग हामी अनभिज्ञ छौं, यदि पर्यटकहरूलाई त्यहाँ पु¥याउने हो भने धरानलाई धेरै फाइदा हुन्छ ।’

नमस्ते झरना धरानबाट करिब २७ किलोमिटर टाढा पर्छ । शिवजट्टाको दुरी जिरोपोइन्टबाट करिब ४ किलोमिटर मात्र हो । शिवजट्टा नजिक सेउतीसम्म कच्ची बाटो पुगेको छ । त्यहाँसम्म गाडी वा २ चक्के साधनमा सहजै पुग्न सकिन्छ । झरी पर्दा मात्र असहज हुन्छ । सेउती खोलादेखि पुल तरेर १० मिनेट पैदल हिँड्दा झरनामा पुगिन्छ । नजिकै शिवको मन्दिर छ । हिन्दू आराध्यदेव शिवको जट्टा खसेको स्थानको रूपमा यो झरना पवित्रस्थल मानिन्छ ।

‘झरनासम्म पुग्ने बाटो अझै राम्रो बनाइदिनुपर्छ, पर्यटकहरू कुनै कठिनाइ बिना पुग्ने सुविधा भयो भने धेरै राम्रो हुनेथियो,’ वडा नं ४ का सदस्य धनबहादुर कुलुङले भने, ‘यतिबेला नमस्ते झरना बन्द छ, पर्यटकहरूलाई शिवजट्टा पु¥याउन सके कति फाइदा हुन्थ्यो ?’

भेडेटारको पर्यटनमा असर
जेठ अन्तिम साताको दुःखद घटनाले नमस्ते झरनामा पर्यटकहरूलाई प्रवेशमा प्रतिबन्ध लागेको छ । झरना व्यवस्थापन समितिले आवश्यक संरचना बनाएर पर्यटकलाई सुरक्षित हुने वातावरण तयार गरेर मात्र प्रतिबन्ध हटाइने जनाएको छ । साँगुरीगढी गाउँपालिकाले ६ लाख बजेट दिएको छ । त्यसले जाली लगाएर ढुंगा खस्न नदिने गरी झरनालाई सुरक्षित बनाउने काम भइरहेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बूका अनुसार सुरक्षाको काम सक्न अझै कम्तीमा पनि २ साता लाग्न सक्छ । त्यतिबेलासम्म नमस्ते झरनामा पर्यटकलाई प्रवेश निषेध नै हुनेछ । यो प्रतिबन्धले पर्यटकहरू निराश छन् भने भेडेटारको पर्यटन व्यवसायलाई पनि असर परिरहेको छ । पूर्वी नेपालको तराई र भारत(विहार)का पर्यटकहरूको मुख्य गन्तव्य नमस्ते झरना हो । त्यहाँ प्रतिबन्ध लागेपछि संख्या कम भएको व्यवसायीहरू बताउँछन् ।

‘विहारका धेरै पर्यटकहरूले मलाई फोन गरेर सोध्छन्, झरना खुलेको छैन भनेपछि यता नआई फर्किँदा पनि रहेछन् । यसले त भेडेटारको पर्यटनलाई असर पुगेको छ,’ अध्यक्ष लिम्बूले भने । उनका अनुसार झरना मोडमा खुलेका डेढ दर्जन बढी ठूला साना होटलको व्यवसाय एक महिनादेखि चौपट भएको छ । त्यहाँका ग्राहकहरू झरनामा आउने पर्यटकहरू नै हुन् ।

होटल एशोसिएसन अफ भेडेटारका सचिव जितेन्द्र रुम्दाली पनि झरनाको प्रतिबन्धले पर्यटनलाई असर पुगेको बताउँछन् । उनका अनुसार भेडेटार आउने ९० प्रतिशत पर्यटकहरू नमस्ते झरना जान्छन् । अहिले झरनामा प्रतिबन्धको कारण असर पुगेको उनले बताए । ‘नमस्ते झरनामा रमाउँदै भेडेटारमा खानेबस्ने पर्यटकहरू हुन्छन्, अहिले झरनामा प्रतिबन्धले असर परेको छ,’ उनले भने ।