सुशिला उप्रेती 

इटहरीः सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको दावी गर्दै सुक्रबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोरङको रतुवामाई नगरपालिका वडा नं.६ का वडाध्यक्ष र सचिव सहित ५ जना विरुद्ध बिषेश अदालतमा मुद्धा दायर गरेको छ । 

उनीहरु विरुद्ध परेको उजुरीको आधारमा आवश्यक छानविन गर्दा प्रमाणका आधारमा वडा कार्यालयमा आएका सेवाग्राहीबाट समाजिक सुरक्षाभत्ताको रकम अपचलन गरेकाले कैद र जरिवान सहितको कानूनी कार्वाहीको माग गर्दै बिषेश अदालतमा मुद्धा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । 

रतुवामाई नगरपालिका वडा नं. ६ बाट प्रदान हुने सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गरी सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको घिमिरेले जनाएका छन् । उनीहरु सो अनियमित कार्यमा  नागरिकतामा भएको साविकको जन्म मितिमा फेरबदल गरी सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा प्रविष्ट गराउनको निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार सिफारिस गरिएको अनुसन्धानबाट खुलेको घिमिरे जानकारी दिए । 

वडाध्यक्षले सिफारिस गरेको निवेदनलाई ईलाका प्रशासन कार्यालय रंगेली मोरङले नागरिकताको प्रथम प्रतिलिपि जारी गर्नको निमित्त पेश भएको अनुसूचीको विवरण एकिन नगरी प्रथम प्रतिलिपिका लागि विवरण रहेको कार्यालयबाट विवरण माग तथा रुजु समेत नगरी जन्म मिति फरक पारी प्रतिलिपि नागरिकता जारी गरिदिई बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएको घिमिरेले दावी गरे । सो कार्यमा संलग्न रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेललाई अख्तियारले बिषेश अदालत काठमाडौंमा दायर गरेको मुद्धामा  कैद सजायको माग सहित १ लाख ६० हजारको विगो माग दावी गरेको छ  । 

8f14117e-36a0-4905-a283-9f1b31b46663

अख्तियारले सोही वडाकी  तत्कालीन वडा सचिव कल्पना बास्कोटा रु.१ लाख ४४ हजार बिगो सहित कानूनी सजायको माग सो मुद्धामा गरेको छ । बास्कोटा अहिले नगरपालिकाको महिला तथा बालवालिका विकास शाखा माध्यामिक विद्यालय निरिक्षक पाँचौ पदमा कार्यरत छिन् । 

त्यसैगरी ईलाका प्रशासन कार्यालय रंगेली मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र सोही कार्यालयका तत्कालीन नायब सुब्बा रमेश कोइरालालाई पनि जरिवाना सहितको कानूनी कार्वाहीको माग अख्तियारले गरेको छ ।  

रतुवामाई नगरपालिका वडा नं. ६ का मेगदिप पोखरेल र तारा देवी पोखरेललाई १ लाख ४४ हजारको बिगो सहित कानूनी कार्वाहीको माग गरिएको अख्तियारले जनाएको छ । 

सो अनियमित कार्यको मतियार भएको दावी सहित रतुवामाई नगरपालिका वडा नं. ६ की भक्त कुमारी लुईटेल विरुद्ध पनि अख्तियारले १६ हजार बिगो सहित कानूनी कार्वाहीको माग गरि बिषेश अदालत काठमाडौंमा मुद्धा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । लुईटेल वडा अध्यक्ष लुईटेलकी श्रीमति हुन् । 

eb71a418-c590-4fda-83b7-501320146079

अख्तियारले बिषेश अदालतमा मुद्धा दायर गरेपछि वडाध्यक्ष लुईटेलले आफुले सुरुमा खराब दृष्टिले सिफारिस नगरेको बताए । पछि राष्ट्रिय परिचय पत्र बनाई सामाजिक सुरक्षा भत्ता कार्ड बनाउँदा आफुले जानकारी पाएको सो बेला नै भत्ता कार्ड रद्ध नगर्नु चाही आफ्नो गल्ती भएको उनले बताए । वडाध्यक्ष लुईटेलले भने—‘राम्रो नियतले काम गरिएको हो । सेवाग्राहीले नै नियत खराब राखेपछि कसको के लाग्छ र नि । मलाई दशा लागेको रहेछ नि । अब जे होला । अख्तियारले पनि हामी साना मसिनालाई तर्साउने त रहेछ ठूलावडाहरु त्यसै जोगिरहेका छन् ।’ तत्कालिन वडा सचिव बास्कोटाले भने फोन उठाइनन् ।