सिद्धार्थनगरः  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले भुमे पर्वले पुरानो परम्परा, संस्कार र संस्कृतिको जर्गेना गर्ने गरेको बताएका छन्  । 

उनले परम्पराको रक्षा, संरक्षण र सम्बर्धन गर्ने कार्यमा समुदायहरुले खेलेका भुमिका पनि प्रसंशा योग्य रहेको  उल्लेख गरे ।  सुनछहरी गाउँपालिका वडा नं. ७  जेलबाङ रोल्पामा भूमे पर्वको अवसरका भएको भूम्या राम–२०८१ को कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले पुरानो संस्कारले मानव जिवनलाई आनन्द दिने गरेको बताए । 

 असार १ गते देखि ३ गते रोल्पा, प्युठान,रुकुम, दाङ लगायतका जिल्लामा मनाउने भूमे पर्व बर्षायाममा शुरुहुने भएकोले यो कृषि संग सम्बन्धित रहेको मुख्यमन्त्री महराको बताए ।

प्रकृति पुजकहरुले मनाउने यो पर्वलाई अझ सभ्य र भव्य रुपमा पुस्तान्तरण गर्नुपर्ने मुख्यमन्त्री महराले सुझाव दिए ।

लुम्बिनी प्रदेश सरकारले ‘ब्याक टु कल्चर’ र ‘व्याक टु नेचर’ भन्ने नारा दिएर पुरानो परम्पराको संरक्षण गर्न खोजेको  भन्दै  मुख्यमन्त्री महराले आफ्नो मन्तव्यमा पुराना संस्कारको जर्गेना र वातावरणको संरक्षणमा आफुहरुले जोड दिएको जानाकारी दिए । 

अहिले हामीलाई स्वच्छ हावा, सफा पानी, अर्गानिक स्वस्थकर खाना र सकारात्मक मार्ग सहितको जिवन चाहिएको छ । उनले भने, ‘यसका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरेका छ ।’

bhume 1

मानिसहरु एकआपसमा भेटघाट गर्ने, दुःख, सुख साटासाट गर्ने र पुराना पुस्ताहरु संग अनुभवहरु सिक्ने अवसर चाडपर्वहरुले दिने भएकाले भूमेपर्व जस्ता  मेलापर्व नयाँपुस्ताका लागि महत्वपूण रहेको मुख्यमन्त्री महराले बताए । 

आफ्नो निर्वाचन क्षेत्र रोल्पाको जेलवाङमा पुगेर मुख्यमन्त्री महराले लुम्बिनी प्रदेशको विकास तथा रोल्पा जिल्लाको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले विनियोजन गरेका बजेटहरु सहिरुपमा सदुपयोग गर्न जनसमुदायहरुलाई आग्रह गरे ।

उनले जनयुद्धमा सवैभन्दा धेरै जनाले बलिदान दिएको क्षेत्र जेलवाङ भएकाले नेपालको परिवर्तनमा जेलवाङलाई विर्सन नसकिने बताए ।

मुख्यमन्त्री महराले शहर र गाउँको अन्तर विरोध हल गर्न र हिमाल, पहाड, तराईलाई सन्तुलित विकासमा अगाडी बढाउन आवश्यक रहेको भन्दै जनसहभागिताले मात्र सम्भव रहेको बताए ।