इटहरीः नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीमा २४ वटा जेट बोट सञ्चालनमा आउने भएका छन् । स्थानीयहरूले मिनी पानीजहाज भन्ने यी जेट बोटहरू चलाउन विभिन्न चार वटा कम्पनी सक्रिय हुनेछन् । यी सबै जेटबोट सञ्चालनसँगै मनोरन्ञ्जन र यातायात दुवैको लागि ३ सय बढीले एकैपटक जेट बोटमा चढ्न सक्ने देखिएको छ ।
हाल सुनसरीको चतरादेखि भोजपुर र धनकुटाको दक्षिणी हतुवागढी र शहीदभूमि गाउँपालिकासम्म जल यातायात सञ्चालनमा छ । यसले भोजपुरको दक्षिणी क्षेत्रबाट सुनसरी आउन लाग्ने ७ घण्टाको पैदलदूरी घटेर २० मिनेटको जलदूरीमा आएको स्थानीयहरू बताउँछन् ।
हाल नेपाल रिभर ट्रान्सपोर्ट प्रालि र वराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले ३० सिटका २ वटा जहाजबाट जलयातायाको सेवा दिइरहेका छन् । यी २ बाहेक अब थप दुई नयाँ कम्पनीबाट २२ वटा नयाँ जेट बोटहरू थपिने भएका छन् ।
सप्तकोशी नदीमा फाुगन महिनादेखि कोशी एड्भेन्चर प्रालिले १८ वटा जेट बोट तथा स्पीड बोट सञ्चालन गर्ने भएको छ । कम्पनीका सञ्चालक सुरेश बस्नेतका अनुसार ६ सिटदेखि २६ सिटसम्मका १८ वटा जेटबोट र स्पीडबोट सप्तकोशीमा सञ्चालनमा आउनेछन् । आवश्यक जेट बोट निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको पनि सञ्चालक बस्नेतले बताए । बस्नेतले यस अगाडि रिभर डिप ¥याफ्टिङ नामक कम्पनीबाट तमोर, अरुण र सुनकोशीमा २०७२ सालदेखि ¥याफ्टिङ गराउँदै आएका थिए ।
नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, वराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली र कोशि रिभर एड्भेन्चरसँगै अर्को नयाँ कम्पनीले पनि जलयातायात गराउने भएको छ । बराहक्षेत्र मरिन रिसोर्ट प्रालिले सप्तकोशी नदीमा ४ वटा जेट बोट सञ्चालन गर्ने तयारी थालेको छ । १० जना बोक्ने २ वटा तथा २५ जना र १ सय जना बोक्ने १– १ वटा जेट बोट सञ्चालनको तयारी भएको सञ्चालक नवीन पौडेलले बताए ।