इटहरीः गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित समारोहमा गायक यम बराल, संगीतकारहरु सुरेश अधिकारी, गणेश पराजुली, वसन्त सापकोटा लगायतले गीतको विमोचन गरे ।
गीतको भिडियो सार्वजनिकपछि बोल्दै गायक यम बरालले गायकी र भिडियो मेकिङको प्रशंसा गरे । 'प्रेम प्राप्तिपछिको वियोग भावको गीत मर्मस्पर्शी छ । भिडियोले गीतको भावलाई चरितार्थ गर्ने प्रयास गरेको छ,' उनले भने ।
संगीतकार सुरेश अधिकारीले सुगम संगीतमा आधारित गीतको शब्द, संगीत, गायकी र भिडियो राम्रो रहेको बताए । 'गायक प्रचण्डबाबुको गायकी पनि मनपर्‍यो, भिडियो पनि राम्रो बनेको रहेछ, शुभकामना छ,' उनले भने ।
संगीतकार वसन्त सापकोटाले आफूले केही वर्षअघि लेखेको शब्दमा संगीत भरेर गायक प्रचण्डबाबुसँग सहकार्य गर्दा यसले जीवन पाएको महसुस भएको बताए ।
4 (1)
गायक प्रचण्डबाबु राईले आफू अनौपचारिक रुपमा करिब दुई दशकदेखि संगीतमा लागेको भएपनि अढाई वर्षअघि मात्रै पहिलो गीत गर्ने अवसर पाएको बताए । 'अब सकेसम्म संगीतमा केही गर्ने सोच बनाएको छु । म रहरले होइन, प्यासनले नै संगीतमा लागेको हुँ,' उनले भने,'यो नयाँ गीतको अडियो र भिडियो दुवैमा निकै मेहनत गरेका छौं । आशा छ यसले मेरो सांगीतिक करिअरमा केही न केही योगदान दिनेछ ।'
निर्देशक निकेश खड्काले उक्त गीतको भिडियो निर्माण प्रक्रियाबारे सुनाएका थिए । भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राईले अभिनय गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन रहेको छ ।
उनले रचना रिमालसँग गाएको 'दिल खोलेर कुरा गर न' गीतलाई श्रोता-दर्शकले निकै रुचाएका थिए । उनको केही महिनाअघि 'तिम्रै याद आउँछ' र त्यसअघि 'अमेरिकामा ब्रेकफास्ट गरौंला' लगायत गीत सार्वजनिक भएका थिए । 'यो मायाले के गर्‍यो के गर्‍यो'लाई 'वसन्त सापकोटा' युट्युब च्यानलमा रिलिज गरिएको छ ।