विराटनगरः ४ वटा उडान भरेसँगै विराटनगरबाट सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) रोकिएको छ । निजी क्षेत्रको पहलमा विराटनगर विमानस्थलबाट शुरु भएको माउन्टेन फ्लाइट मौसम खराबीको कारण देखाउँदै रोकिएको हो ।

विराटनगर विमानस्थलबाट गत मंसिर ८ गते पहिलो पर्वतीय उडान भरिएको थियो । प्रदेश सरकारको मन लोभ्याएर योजनाको निरन्तरतामा सहयोगको अपेक्षासहित शुरु गरिएको माउन्टेन फ्लाइटको ४ वटा उडानमा ८ भारतीय पर्यटकसहित ८० जना आन्तरिक पर्यटक घुमेपछि रोकिएको हो ।

पुस महिना लागेसँगै मौसममा आएको खराबी र विमानस्थल खुल्न नसकेका कारण उडान भर्न समस्या भएको विराट होलिडेजका अध्यक्ष एवं पर्यटन व्यवसायी भविष श्रेष्ठले जानकारी दिए । विमानस्थलमा जहाज उडान र अवतरण गर्न समस्या भएका कारण तत्काललाई रोक्नुपर्ने बाध्यता भएको श्रेष्ठको भनाइ छ ।
विराट होलिडेज कम्पनी र पर्यटन तथा ट्राभल्स एसोसिएसन मोरङको पहलबाट शुरु भएको पर्वतीय उडानमा हालसम्म आन्तरिक पर्यटकको सङ्ख्या धेरै छ । व्यावसायिक उडानका लागि भारत, बङ्गलादेश र भुटानका पर्यटकको आवश्यकता हुन्छ । प्रारम्भिक चरणमा आन्तरिक पर्यटकलाई अवसर दिँदै छिमेकी देशमा प्रचारप्रसारको काम थालिएको बताइन्छ ।

पहिलो उडानमा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, मन्त्रिपरिषद्का सदस्य, मन्त्रीहरू प्रमुख सचिव तथा मन्त्रालयका सचिवहरू सहभागी थिए । त्यसपछि पूर्वका उद्योगी, व्यवसायीहरूले उत्साहपूर्वक पर्वतीय उडान भरेको व्यवसायी श्रेष्ठको दाबी छ । ‘हामीसँग ३ वटा उडानका लागि आवश्यक पर्ने यात्रु तयार छन्’, श्रेष्ठले भने, ‘मौसम हेरेर माघको पहिलो शनिबारदेखि फेरि शुरु गर्छाैं ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई विराटनगरमा भित्र्याउँदै हिमाली शृङ्खला देखाउने उद्देश्य राखे पनि मौसमका कारण उडान भर्न समस्या भएको हो । हिमशृङ्खला अवलोकनका लागि बिहानै वायुयान उडाउनुपर्ने बाध्यता समेत रहेको बताइन्छ ।
घाम लागेसँगै हिउँ पग्लने हुनाले बाफ निस्केपछि हिमालको नजिक जहाज लान जोखिम मानिने बताइन्छ । बिहानैको समयमा उडान भर्नका लागि मौसममा आएको खराबीले बाधक बनेको श्रेष्ठ बताउँछन् ।

सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मकालुसहितका हिमशृङखलाको अवलोकन गर्नका लागि भारत, बङ्गलादेश र भुटानका पर्यटकको आकर्षक गन्तव्य विराटनगर बनाउने लक्ष्यसहित उडान शुरु गरिएको थियो ।
पर्यटन तथा ट्राभल्स एसोसिएसनले प्रति उडान १ लाख ८० हजार रुपैयाँ बुझाउने गरि यति एयरलाइन्ससँग सम्झौता गरेको थियो । यतिको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले ५५ मिनेटको उडान भरेर विराटनगर विमानस्थलमा अवतरण गर्दै आएको थियो । प्रतियात्रु ९ हजार ९ सय रुपैयाँ मात्रै लिने भएका कारण काठमाडौंबाट भन्दा उडान गर्न सस्तो रहेको थियो । काठमाडौंबाट उड्ने यात्रुले ११ हजार ६ सय ३५ रुपैयाँ बुझाउँदै आएका छन् ।