इटहरी/ कविता साधना गरेको ४ दशक नाघिसक्यो इटहरीका कवि बद्री भिखारीको । तर, उनले आफ्नो पहिलो संग्रह भने २०५६ सालमा मात्रै ल्याए । ‘माडसा’बको झोला’ शीर्षकको उनको संग्रहले निकै चर्चा पायो ।

पहिलो कविता संग्रह ल्याएको ठीक १९ वर्षपछि कवि भिखारीले दोस्रो संग्रह ल्याएका छन् । कविताबाहेक भिखारीको ‘हत्केलाभरिका रेखाहरू’ नामक मुक्तक संग्रह पनि प्रकाशित छ । ‘समुद्र साउती’ शीर्षकको दोस्रो कविता संग्रह कवि भिखारीले असार २९ गते भानु जयन्तीको दिन संघीय राजधानी काठमाडौंको शिल्पी थिएटरमा लोकार्पण गराए ।

वरिष्ठ कवि तुलसी दिवस प्रमुख अतिथि र सुनिल पोखरेल, अभि सुवेदी, जसराज किराती, श्यामलजस्ता कविता, समालोचना तथा नाट्य क्षेत्रका दिग्गज व्यक्तिको उपस्थितिमा कृति लोकार्पण गरिएको थियो । कवितामा समालोचक महेश पौड्याल, कवि स्वप्निल स्मृति र श्यामलले बोलेका थिए । समालोचक महेश पौड्यालले कवि भिखारीको कवितामा विम्ब विन्यास र कविता तत्व प्रचुर रहेको भन्दै कमजोर पक्ष विरलै मात्रै भएको बताए । शालीन विद्रोह र विनम्रता कवितामा धेरै भएको पौड्यालले बताए । उता, कवि स्वप्निल स्मृतिले कवि भिखारीले सरल कविता लेखेको भन्दै पहिलोपटक पढ्दा भन्दा दोस्रो पटक पढ्दा कवितामा आनन्द आएको बताए । वरिष्ठ कवि श्यामलले भिखारीको कवितामा राम्राराम्रा कविताहरू आएको र नयाँ संग्रहमा पनि कवि भिखारी झनै नयाँपन सहित आएको बताए ।

कविता संग्रहको टिप्पणी गर्दै वरिष्ठ कवि जसराज किराती र तुलसी दिवसले बद्री भिखारी पूर्वबाट कविता लेख्ने राम्रो कवि भएको भन्दै नयाँ संग्रहले त्यो कुराको पुष्टि गरेको बताए । भिन्नभिन्न शिल्पमा भिन्नभिन्न शैलीका कविता लेख्न सक्नु भिखारीको मौलिकता देखिएको कवि दिवसले बताए । उनले भने, ‘ऐनालाई अन्य धेरै कविले हेर्ने भन्दा बिल्कुल फरक परिवेशमा कवि भिखारीको कविता आएको छ । यिनमा भिन्न शैलीमा कविता लेख्ने दक्षता देखिन्छ भन्नेमा म विश्वस्त भए ।’

भिखारीको कविता संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो । ४० वटा कविताहरू संग्रहित संग्रहमा विभिन्न ५ खण्डहरू रहेका छन् । ‘आमा र देश’, ‘विचार र चिन्तन’, ‘समय र स्वतन्त्रता’, ‘प्रेम र प्रकृति’ र ‘प्रकृति र जीवन’ खण्डहरू रहेका कवितामा खण्डअनुसार भिन्नभिन्न कविले मन्तव्य समेत राखेका छन् । कविहरू कुन्ता शर्मा, बम देवान, विष्णुविभू घिमिरे, जसराज किराती र मनु मञ्जिलले मन्तव्य दिएका छन् ।