भेडेटारः पुस ३० गतेदेखि माघ २ गतेसम्म धनकुटाको सुन्दर हिल स्टेसन नाम्जेमा प्रथम माघे संक्रान्ति महोत्सव हुँदैछ । सन् २०११ मा विश्वप्रसिद्ध अमेरिकी च्यानल सिएनएनले विश्वका नसुनिएका तर घुम्नैपर्ने गन्तव्य सूचीमा राखेको नाम्जेमा महोत्सव गर्न सरोकारवाला सक्रिय भएका छन् ।

तरुल खाएर मनाइने प्रसिद्ध माघी पर्वको अवसरमा प्रथम माघे संक्रान्ति महोत्सव हुन लागेको हो । महोत्सवको लागि आत्माघर जाने बाटोमा रहेको नाम्जे पार्किङ स्थल चयन गरिएको छ । साँघुरीगढी गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नाम्जे बजारको पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्न यस्तो महोत्सव गर्न लागिएको महोत्सवका आयोजनामा सक्रिय गाउँपालिका सहित १३ वटा संस्था बताउँछन् ।

50091218_1204040589745138_6851083800512823296_n

२० वटा स्टलमा विभिन्न जातीय र सांस्कृतिक परिकारहरू रहने र सांस्कृतिक कार्यक्रमको प्याकेज हुने मूल आयोजक समितिका अध्यक्ष अनिलकुमार मगरले बताए । विभिन्न खेलकुद प्रतियोगिताहरू समेत समेटिएको महोत्सवका लागि सक्रिय छन् सरोकारवालाहरू । महोत्सवमा सक्रिय दर्जनौँ सरोकारवालामा हामीले ३ जनासँग कुराकानी गरेका छौँ। महोत्सवको तयारीमा यस्तो छ उनीहरूको भनाइको सारांशः

namje homestay pradeshportal

अनिलकुमार राना मगर, अध्यक्ष मूल आयोजक समिति
नाम्जेको होटलमा १ सय जना अट्छन् । होमस्टेमा १ सय २० जना अट्छन् । यसरी २ सय २० जनालाई हामी अटाउन सक्छौँ । हाम्रो होमस्टेमा गाउँले खानपान गराउने भएकाले धेरैले रुचाउँछन् । बारीकै सागपात खाने र स्थानीय परिकार खुवाउँछौँ । कोदोको ढिँडो, मकैको च्याँख्ला, गुन्दु्रकको अचार, लोकल कुखुरा र सुँगुरको मासु आदि यहाँ धेरैले रुचाएका छन् ।

Maghesankranti Mahotsav

पहाडबाट तराई झरेकाहरू हाम्रो होमस्टेमा रमाइलो मानेर बस्छन् । खानपान गर्छन् । होमस्टेमा पनि कसैकसैले अट्याच बाथरुम खोज्छन् । त्यो कुरा होमस्टेमा हुन सक्दैन । उनीहरू होटलमा बस्छन्, होमस्टेमा बस्दैनन् ।
यो महोत्सवबाट होटल तथा होमस्टेका लागि धेरै फाइदा हुनेछ । नाम्जे र आसपासका पर्यटकीय क्षेत्रहरू घुम्ने एक माहोल यो महोत्सवले दिनेछ । होम स्टेमा मासु र खाना खाएर बसेको १ जनाले ४ सय रुपैयाँ तिर्नुपर्छ भने होटलमा १ हजार हाराहारी पर्छ ।
होटल खोज्नेलाइ होटल र होमस्टे खोज्नेलाई होमस्टे छ नाम्जेमा । यस्तो सुविधा भएको नाम्जे भेडेटारबाट ३ किलोमिटर मात्रै टाढा छ । यो महोत्सवले नाम्जेलाई चिन्न र चिनाउन सजिलो पार्नेछ ।

namje dhankuta 3 pradeshportal

सरिता राना मगर, नाम्जेकी प्रथम होटल सञ्चालक
हाम्रो होटल दीप एण्ड लजमा अहिलेको सिजन अफ सिजन हो । ८ सय देखि १ हजारसम्ममा कोठाहरू यहाँ पाइन्छ । मेरोमा मात्रै होइन १३ वटा यहाँका लज भएका होटलमा यो सुविधा छ । महोत्सवको आयोजनाले हाम्रा होटलमा पर्यटकहरू आएर भरिभराउ हुने आशा छ । धरान, इटहरी, विराटनगर जस्ता स्थानहरूबाट आगन्तुकहरू आउनु हुनेछ भन्ने आशा छ । हाम्रा यहाँका होटलहरूमा १ सय जना अटाउनु हुन्छ । यो महोत्सवमा आउँदा स्थानीय खाना, स्थानिय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत हुने हुनाले यो महोत्सवमा आउनुहुन हाम्रो आग्रह छ ।

Namje dhankuta 1

सुदर्शन खड्का, सञ्चालक, होटल नाम्जे भ्यु
म इटहरीको मान्छे अहिले नाम्जेमा आएको छु । नाम्जेमा म आउनुमा यहाँको विश्वस्तरीय आकर्षण भएको गन्तव्य नै हो l । नाम्जेमा मगर कला, संस्कृति, वेशभूषा र रहनसहन भएको दैनिकी देख्न सकिन्छ । सिएनएनले विश्वका उत्कृष्ट गन्तव्यमा देखेको यो ठाउँमा होमस्टेको सुविधा पनि छ ।
भेडेटार, ध्जवे डाँडा, नमस्ते झरना, ओख्रे भ्यु टावर, आत्माघर, सूर्योदय बुद्ध विहारजस्ता थुप्रै घुम्ने ठाउँहरू छन् । राजारानी पनि यही बाटो भएर पुग्न सकिन्छ । धरानबाट २० किलोमिटर मात्रैको सडक दुरीमा नाम्जे रहेको छ ।

namje dhanktua 2 pradeshportal
यो स्थान आफैमा माघीसँग जोडिएको हो । मगर जातिका एक अगुवाले अस्ति पत्रकार सम्मेलनमा नाम्जे आफैँ तरुलसँग जोडिएको र तरुल मगरको माघी पर्वसँग जोडिएको बताउँदै हुनुहुन्थ्यो । मगर भाषामा नामे भनेको तरुल र ज्या भनेको जानु भन्ने हुँदोरहेछ । तरुल खान जाने स्थानको रुपमा नाम्जे बनेको रै’छ । यो कुराले पनि नाम्जे र तरुल अनि माघी यहाँ जोडिएको देखिन्छ ।
यो प्रथम माघी महोत्सवमा यस्तो कुरा मात्रै होइन स्थानीय परिकार, मगर जाति र राई जातिका सांस्कृतिक खुराकहरू पस्किनेछ । यसका साथै नाम्जे आसपासको पर्यटकीय प्रचार र प्रवद्र्धन अनि स्थानिय संस्कृतिको पहिचानमा यो महोत्सव महत्वपूर्ण हुनेछ ।