धरान/ साउनको पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन बोलबम भक्तजनहरूको घुइँचो लागेको छ ।

विगतका वर्षहरूमा पहिलो सोमबार जल चढाउने गेरुवस्त्रधारी भक्तजनहरूको संख्या न्यून हुने र अन्तिम दुई सोमबार मात्र भीड हुने गरेको थियो । तर, यो वर्ष भने शुरुवाती दिनहरूमा नै अत्यधिक मात्रामा बोलबम तीर्थयात्रीहरू जल चढाउन आएको बाबाधाम समितिले जनाएको छ । समितिका अध्यक्ष विकास बनेपालीका अनुसार पहिलो सोमबार कम्तीमा २० हजार गेरुवस्त्रधारी भक्तजनहरूले जल चढाएका छन् । विगतमा भने स्थानीय भक्तजनहरूको मात्र संख्या शुरुवाती सोमबार बढी हुने गरेको थियो । ‘यसपाली पहिलो सोमबार नै अत्यधिक बोलबम भक्तजनहरू आउनुभयो । कम्तीमा पनि २० हजारले जल चढाएको अनुमान छ,’ उनले भने ।

जल चढाउन भक्तजनहरू आइतबार साँझदेखि नै लाम लागेका थिए । अत्यधिक भीडका कारण राती १२ बजे नै मन्दिरको ढोका खोलिएको पनि समितिका अध्यक्ष बनेपालीले जानकारी दिए । मध्यराती १२ बजेदेखि शुरु भएको जल चढाउने क्रम सोमबार साँझ ६ बजे मात्र सकिएको थियो । यसपाली जल चढाउन पूर्वका साथै सुदुर पश्चिम क्षेत्रबाट पनि भक्तजनहरू उल्लेख्य मात्रामा आएको बाबाधाम समितिले जनाएको छ ।

‘सुदुर पश्चिमका सुर्खेत, कञ्चनपुर, बझाङ, बैतडीलगायतबाट पनि भक्तजनहरू जल चढाउन आएको पायौं, त्यताबाट ३० गाडी भक्तजनहरू आउनुभएको थियो,’ अध्यक्ष बनेपालीले भने ।

सोमबार हिन्दू धर्मावलम्बीहरूको पवित्र दिन तुलसी रोप्ने हरिशयनी एकादशी पनि परेको थियो । हिन्दू धर्मवलम्बीहरूका भगवान विष्णु यो दिनदेखि ४ महिनाको लागि चिरनिन्द्रमा जाने विश्वास गरिन्छ ।

त्यसैले साउनमा शिवको मात्र पूजा हुने चलन छ । विगतमा साउनको सोमबार मात्र जल चढाउने चलन भएकामा समितिले यो वर्षदेखि भने साउनको सबै बारमा जल चढाउँदा मनोकांक्षा पूरा हुने भन्दै भक्तजनहरूलाई आग्रह गरिरहेको छ ।

समितिले साउन १ गतेदेखि नै बोलबम धार्मिक उत्सवको शुरुवात गरेको थियो । साउनको सबै बार जल चढाउन महत्व उतिकै हुने भए पनि सोमबार शिवजीको प्रिय बार मानिन्छ । समितिले बोलबम उत्सवमा ५ लाखको हाराहारीमा धार्मिक पर्यटक भित्रिने अपेक्षा गरेको छ ।

कथा अनुसार, देवता र दानवहरूले समुद्र मन्थन गरिसकेर निस्केको अमृत मोहनीरूपी विष्णुले छल गरेर देवताहरूलाई मात्र पिलाउँछन् । अमृत पिएपछि अमृतको छोक्रालाई पिण्ड आकार बनाएर देवहरूले यहाँ पिण्डेश्वर महादेव स्थापना गरेको मानिन्छ । साथै, रौद्ररूपी शिवको आँसु खसेर रुद्राक्ष उत्पत्ति भएको ठाउँ पनि यहीँ भएकाले रुद्राक्षरण्य क्षेत्रको रूपमा पनि यो ठाउँ प्रख्यात छ । यहाँको रुद्रक्ष धारण गरेमा वा अन्यत्रको रुद्राक्ष पिण्डेश्वरमा छुवाएर धारण गर्नाले शुभ हुने विश्वास छ ।

pindeswar-(1) pindeswar (2)