सप्तरीः केही समययता बिहेको प्रलोभन देखाई शारीरिक सम्बन्ध कायम गर्ने अनी त्यसपछि विभिन्न बहाना देखाई प्रेमिकालाई ‘घर न घाटकी’ बनाउने प्रवृत्तीका घट्ना समाजमा बढ्दो क्रममा छ ।
पछिल्लो पटक यस्तै प्रवृत्तीको शिकार भएकी छिन् सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० बर्षीया कल्पना (नाम परिवर्तन) । उनी अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
दुःखद अवस्था त के छ भने न्यायका लागि गुहार्दै हिडेकी उनी आफ्नो प्रेमी सोही वडाका २४ बर्षीय शिवजी खंगको ४ महिनाको गर्भ समेत बोकेकी छिन् । विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी अहिले छाडेर हिडेपछि कल्पनाको विच्चली भएको हो ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा शिवजी र उनका अभिभावक विरुद्ध उजूरी दिएकी छिन् । उनले आफूलाई यस्तो अवस्थामा पु¥याउने शिवजीले बाचा अनुसार विवाह नगर्दा घर न घाटकी भएको भन्दै उनी विरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा चलाउन आग्रह समेत गरेकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मै पढदै गरेका बेला शिवजी संग प्रेम सम्बन्धमा जोडिन पुगेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत २ बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको उनको कथन छ ।
स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भ बोकेको रिपोर्टले समेत देखाएको छ । २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरि २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए । तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पनाको दुखेसो छ ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा जुटेको उनको कथन छ ।
“शुरुमा विहेको प्रलोभन देखाई जवरजस्ती शारीरिक सम्बन्ध स्थापित गरे, गर्भवती भएपछि विहेको उमेर पुग्नासाथ विहे गर्छु भनि सार्वजनिक रुपमै पंचायतीमा लिखित कबोल पनि गरे, उनले थपिन–अहिले आएर शिवजी भारततिर भागेका छन् भने उनका अभिभावकले घरमा बस्न र छिर्न पनि दिदैनन् ।”
घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माईती गयो भने “तैले आफ्नो मर्जीले विहे गरिस् भन्दै बस्न दिदैनन्” कल्पनाले रुदै सुनाईन् । उनले पेटमा रहेको गर्भ फाल्न शिवजी र उनका अभिभावकबाट पटक पटक प्रयास र दवाव भएको बताउँदै आफैू गर्भ फाल्न तयार नभएपछि अनेकौं प्रकारले दुख दिन थालिएको सुनाईन् ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एकजार दुईसय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले सुनाईन् । यद्यपी त्यो रकम फिर्ता गर्ने हैसियत आफूसंग नरहेकाले सापटी दिने छिमेकीको खेतमा ४–५ दिन खेतबारी (मजदूरी) को काम गरेर ऋण चुक्ता हुने उनको कथन छ ।
शिवजी र उनका आफन्तले केही पैसा लेउ र अर्कै केटा संग विहे गरि लेउ भन्दै प्रलोभन देखाउने गरेको समेत उनले सुनाइन् ।
प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभ्मिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरि अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको बताए । उनले भने “शुरुमा घर बसाउने र कल्पनालाई सुरक्षित साथ बस्ने वातावरण मिलाउने प्रयास गरिन्छ, केही सीप नलागे कानुनी प्रक्रिया शुरु गरि दोषीलाई कारवाही गरिन्छ ।”
उनले यस्ता प्रकृतीका घट्ना समाजमा निकै बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुनुपर्नेमा जोड समेत दिएका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।