इटहरीः सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–६ कटैया गाउँस्थित भोला सदाको घरबाट शनिबार राति गाँजा बरामद गरिएको हो । राति पौने १ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरी लुकाइराखेको अवस्थामा करिब १४ सय किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको छ ।
सीमावर्ती गाउँ भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुन सक्ने आशंका गरिएको थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।




















