धनकुटा: माघेसक्रान्तिको अवसरमा धनकुटामा पूर्वमै पहिलो पटक गोरु जुधाई प्रतियोगिता आयोजना गरिएको छ । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ स्थित मुगामा यसवर्ष पहिलो पटक १५ गोरु जुधाइएको माघेसक्रान्ति मेला व्यवस्थापना समितिका अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए ।
प्रतियोगितामा पाख्रिबासको नगरपालिका वडा नंं ८ का महसुर राईको गोरु प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएको गोरुले १५ हजार रुपैयाँ पुरस्कार पाएको छ। माघे संक्रान्ति मेला आयोजक समितिले मनोरञ्जनात्मक खेलको रुपमा गोरु जुधाउने प्रतियोगिता आयोजना गरेको आयोजक समितिका कोषाध्यक्ष नबिन बराईलीले बताए।
मेलामा मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको गोरु जुधाई रोचक भएको पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले बताए। गोरु जुधाउने प्रतियोगिता आगामी वर्ष अझ व्यवस्थित रुपमा गरिने स्थानीय नगेन्द्र गहतराजले बताए। प्रतियोगितामा सहभागी गोरुको बिमा समेत गरिएको थियो। गोरु जुधाई प्रतियोगिता हेर्न धनकुटाका विभिन्न स्थानबाट सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो।
मेला र प्रतियोगिता सम्पन्न गर्न पाख्रिवास नगरपालिकाले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने स्थानीय युवाले ३० हजार रुपैयाँ आर्थिक संकलन गरेका थिए। युरोपीयन मुलुक स्पेनमा हुने चर्चित साँढे जुधाई प्रतियोगिताले विश्वकै ध्यान खिच्ने गरेको छ। जुन प्रतियोगिता हेर्न विश्वभरीकै मानिसहरु लाखौं खर्च गर्न तयार हुन्छन।
स्पेनमा मात्रै होइन फ्रान्स, पोर्चुगल, मेक्सिको, इक्वेडरलगायत देशमा पनि बुलफाइटबाट मनोरन्जन लिने चलन छ। तर त्यहाँ गोरु–गोरुबीच नभई मान्छे र गोरुबीच भिडन्त हुन्छ। स्वरुप त्यस्तै नभएपनि त्यहाँकै साँढे जुधाइको झल्को दिने गरी नुवाकोट जिल्लामा गोरु जुधाई प्रतियोगिताको आयोजना हुने गरेको थियो।




















