दमकः अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९ को लागि छनोट भएको नाटक ‘गैंडा टाइम्स’ नामक नाटक माघ १० गतेबाट दमकमा मञ्चन हुने भएको छ ।
प्रदेश १ मा रङ्गमञ्च संस्कृति निर्माणमा क्रियाशील कदम थिएटर दमकले ५ दिनसम्म नाटक मञ्चन गर्ने भएको हो । माघ १० देखि १४ गतेसम्म आफ्नो दोस्रो प्रस्तुतिको रूपमा उक्त नाटक मञ्चन गर्ने थिएटरले जानकारी दिएको छ ।
नाटक अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि छनोट हुनु मुलुककै लागि गर्वको कुरा भएको कदम थिएटरका महासचिव मोहन ढुङ्गाना (मेचीपुत्र) ले बताए । आगामी माघ १० गते दिउँसो ४ बजे विशेष मञ्चनसहित ११ देखि १४ गतेसम्म १२ र ४ बजे नियमित २ शो मञ्चन हुने पनि उनले बताए
आख्यानकार बुद्धिसागरको कथा ‘गैंडा टाइम्स’ लाई प्रवीण खतिवडा र सिजन दाहालले नाट्य रूपन्तारण गरेका हुन् । नाटकको परिकल्पना र निर्देशन सिजन दाहालले गरेका छन् ।
दाहालका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट आफ्नो बाबुको खाग चोरी भएपछि खाग तस्करबाट फिर्ता गराउन काठमाडौं पुगेको एउटा गैंडाको सङ्घर्षको कथा नाटकमा प्रस्तुत हुनेछ ।
‘गैंडा टाइम्स’ मा सागर खाती, सुमित्रा पाहिम, आस्था निरौला, मौसम राना, पासाङ चोमु शेर्पा, विकास राना, किरण भेट्वाल, दिवेश लामिछाने, दीपक खरेल, सुवास खरेल, प्रवीण मगर र याङसाङ मुकारुङले अभिनय गर्दैछन् ।
कदमका सचिव कमन देवानका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखाको सभाहलमा नाटक मञ्चन हुने छ । नाटकले बालबालिकादेखि बौद्धिक वर्गलाई समेत आफ्नो कथामा बाँध्ने बताइएको छ ।
प्रकाश र सङ्गीतमा उच्च प्रविधिको प्रयोग गरेर नाटक मञ्चनको तयारी गरिरहेको उनको भनाइ छ । देवानले भने, ‘हामी नाटकको अन्तिम तयारीमा जुटेका छौं । अब नाटक कस्तो बन्यो भनेर प्रतिक्रिया दिने पालो दर्शकका लागि बाँकी छ ।’
कदमले गत वर्ष राष्ट्रिय नाटक महोत्सवमा इलाममा सहभागी भएको नाटक ‘मरिचेको चुपी’ लाई दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा ५ दिनसम्म लगातार ७ शो मञ्चन गरेको थियो ।