इटहरीः एम्बुलेन्स खरिद नै नगरी ८३ लाखबढी आपुर्तीकर्तालाई भुक्तानी दिएको बिषयमा छानविन गरि दोषीलाई कानुनी कारवाहीको माग गर्दै इटहरी उपमहानगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
२० महिनाअघि टेण्डरमार्फत ‘क’ बर्गको एम्बुलेन्स खरिदका नाममा इटहरी उपमहानगरले आपुर्तीकर्ता नेशनल फायर सेफ नामक कम्पनीका नाममा कबुल गरेको कुल रकमको शतप्रतिशत पेश्की वापत ८३ लाखबढी रकम भुक्तानी दिएको थियो । तर, एम्बुलेन्स इटहरी उपमहानगरमा हालसम्म आएकै छैन् ।
इटहरी उपमहानगरपालिकाले एम्बुलेन्स नै नल्याई ८३ लाखबढी भुक्तानी आपुर्तीकर्तालाई भुक्तानी दिएको बिषय गएको ६ जेष्ठमा महालेखा परिक्षकको कार्यालयले इटहरी उपमहानगरपालिकालाई बुझाएको लेखापरिक्षण प्रतिवेदनमा स्पष्ट उल्लेख गरेको थियो । सोही प्रतिवेदनका आधारमा बिभिन्न अनलाइन संचारमाध्यमहरुमा स प्रमाण समाचार प्रकाशन पछि छानविन गरि दोषीलाई कानुनी कारवाहीको माग गर्दै १७ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व क्षेत्रिय कार्यालय इटहरीमा उजुरी परेको हो ।
१७ असारमा परेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले १८ असारमा दर्ता गरि छानविनका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ । अख्तियारमा परको उजुरीको दर्ता नम्बर ०८०९०० हो ।
एम्बुलेन्स नै नल्याई ८३ लाख २५ हजार आपुर्तीकर्तालाई पेश्की वापत भुक्तानी दिएको बिषयमा महालेखाले उल्लेख गरेको इटहरी उपमहानगरपालिकालाई बुझाएको लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपी, सो बिषयमा बिभिन्न सञ्चारमाध्यमहरुमा आएका सामाचार सहित अख्तियारमा उजुरी दर्ता गरिएको हो ।
महालेखाले इटहरी उपमहानगरपालिकालाई बुझाएको १६७ पेजको लेखापरिक्षण प्रतिवेदनको पृष्ठ २५ को बुँदा नम्बर २९ मा उल्लेख गरेको विवरण अनुसार इटहरी उपमहानगरपालिकाले २०८० कात्तिक २२ गते नेशनल फायर सेफ नामको कम्पनीसँग क बर्गको एम्बुलेन्स खरिदका लागि सम्झौता गरेको देखिन्छ । आपुर्तीकर्ता कम्पनी नेशनल फायर सेफले कूल कबोलको शतप्रतिशत रकम पेश्की वापत ८३ लाख २५ हजार रुपियाँ भुक्तानी दिएको लेखाप्रतिवेदनमा स्पष्टसँग उल्लेख गरिएको छ ।
आपुर्तीकर्ताले सम्भौता अनुसार २०८१ असार १० गते भित्रमा एम्बुलेन्स खरिद गरि बुझाई सक्नु पर्ने सम्झौता गर्दा इटहरी उपमहानगरपालिकाको तर्फबाट शर्त राखिएको थियो ।
महालेखा परिक्षकको कार्यालयबाट इटहरी उपमहानगरपालिकाको लेखापरिक्षणका लागि लेखा परिक्षकहरु २०८१ पुष २० गते खटिदासम्म एम्बुलेन्स इटहरी उपमहानगरमा दाखिला नभएको पाइएको प्रतिवेदनमा सो बिषय समावेश गरिएको हो । आपुर्तीकर्ताले भन्सारको समस्या देखाई एम्बुलेन्स ल्याउनु त कता हो कता उल्टै इटहरी उपमहानगरपालिकासँग म्याद थप गर्न अनुरोध गरेको थियो । पटक पटक सम्झौता विपरित कार्य गरिसकेको सो कम्पनीलाई कानुनी कारवाही गर्नुको साटो उपमहानगरले २०८२ असार २९ गतेसम्म म्याद थपिदिएको पाइएको छ । उपमहानगरले आपुर्तीकर्तालाई एम्बुलेन्स ल्याउनका लागि थपिएको म्याद सकिन अब मात्र ६ दिन छ ।
इटहरी उपमहानगरले क बर्गको एम्बुलेन्स खरिदका लागि सम्झौता गरेको ठिक चार महिनापछि २०८० फागुनमा नेशनल फायर सेफसँग नै ४ वटा विद्युतीय बस खरिदका लागि ६ करोड ३६ लाख ८६ हजार ८०० मा सम्झौता गरेको थियो । प्रतिबस एक करोड ५९ लाख २१ ह्जार ७०० मा खरिद गर्ने गरी इटहरी उपमहानगरले सम्झौता गरि आपुर्तीकर्तालाई पेश्की स्वरुप १ करोड २८ लाख ८१ हजार ५ सय ३ रुपियाँ उपलब्ध गराएको थियो ।
विद्युतीय बस खरिदमा पनि अनियमितता भएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो । उजुरीमाथि अख्तियारले छानविन गरिरहेको छ । अख्तियारमा उजुरी परेसँगै आपुर्तीकर्तालाई बाँकी रहेको भुक्तानी रोकिएको छ ।