बेलबारीः बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरूले बेलबारीमा सिमसार क्षेत्रको गुरुयोजना निर्माण गर्दा जनअपेक्षा र सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यलाई ध्यान दिन विज्ञ समूहलाई सुझाव दिएका छन् ।

नगरभित्रका सिमसारहरूको गुरुयोजना निर्माण गर्नुपूर्व स्थानीय जनप्रतिनिधि र विज्ञ समूहबीच नगरपालिकामा भएको छलफल कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगर क्षेत्रभित्र रहेका सिमसारहरूको चरित्र र विशेषता फरकफरक रहेकाले सोही अनुुसार गुरुयोजना निर्माण गरिनुपर्ने बताए । उनले पहिलो प्राथमिकता सिमसारको संरक्षण र त्यसपछि त्यसलाई कृषि उत्पादन तथा पर्यटकीय क्षेत्रसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए ।

उनले कतिपय सिमसारहरू स्थानीय, सामाजिक र सांस्कृतिक पक्षसँग पनि जोडिएका र कतिपय वनस्पति तथा कीटपतङ्गका हिसाबले महत्वपूर्ण भएकाले ती सबै कुरालाई गुरुयोजनामा स्पष्ट उल्लेख गर्नुपर्ने बताए ।

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पहिचान गरिएका सिमसारहरूको आर्थिक, सामाजिक, र भौगोलिक प्रभाव के हुन सक्छ भन्ने विषयतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

food festival

उनले गुरुयोजना निर्माण गर्दा सिमसारहरूको संरक्षण र आयआर्जनका पक्षलाई स्पष्ट छुट्टयाउनुपर्ने विषयमा जोड दिए ।
त्यस्तै, बेलबारी–२ का वडाध्यक्ष घनश्याम गौतमले बेलबारी क्षेत्रका सिमसार, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर पर्यटकीय, जीवशास्त्रीय हिसाबले पनि महत्वपूर्ण भएकाले सोहीअनुसार गुरुयोजना निर्माण हुनुपर्ने बताए ।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष चक्रबहादुर खुलालले स्थानीयका सुझावलाई पनि गुरुयोजनामा समावेश गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा विज्ञ समूहका तर्फबाट प्रा.डा. दामोदर थापा, प्रा.डा. सोम खतिवडा, डा. अर्जुन बराल, डा भविन्द्र निरौला, रामचन्द्र अधिकारीलगायतका व्यक्तिहरूले बेलबारी क्षेत्रका सिमसारको अवस्था र तिनको महत्वको बारेमा आआफ्नो धारण राखेका थिए ।

यसअघि विज्ञ समूहले झण्डै १ महिनाको स्थलगत अध्ययनपछि बेलबारी नगर क्षेत्रका विभिन्न २१ वटा सिमसारको पहिचान गरी तिनको सम्भावनासहितको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो ।