जनकपुरधामः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले जनकपुरधामको तिहुतिया गाछीमा आयोजित सभालाई मैथिली भाषामा सम्बोधन गर्दै भने, ‘कि केना है तु (के छ हालचाल) ?’ बालेनले कालो चस्माबाट सभास्थलतर्फ नजर डुलाउँदै फेरि भने, ‘पहिल बेर सब जाइत समुदायके आदमीसब एके जगह जम्मा भेल है (मधेसमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको छ।)’
उनले थपे, ‘देशको विकासका लागि सबै जात र समुदायको समान विकास हुनुपर्छ।’ उनले गत वर्ष एनपिएलमा जनकपुर बोल्ट्सले जित हात पार्दा सबै जात–समुदाय खुसी भएको सन्दर्भ उल्लेख गर्दै यसो पनि भने, ‘यहाँ पनि सबै जात–समुदायको चेहरा हेर्न पाउँदा खुसी लागेको छ।’
विश्वकै सबैभन्दा प्रसिद्ध जानकी मन्दिरको सौन्दर्य, आकर्षण र व्यवस्थापकीय कमजोरीप्रति लक्षित गर्दै बालेनले भने, ‘विश्वकै प्रसिद्ध रामसीताको विवाह जनकपुरधाममा भएको छ तर हामी डेस्टिनेसन वेडिङका लागि जयपुर र बाली गाइरहेका छौं।’ बाहिर किन जाने भन्दै कमजोर नीति र व्यवस्थापकीय पक्षप्रति उनले आक्रोश व्यक्त गरे। काठमाडौं महानगरपालिकाका नागरिकले काम गर्ने मौका दिएको र आफूले काम गरेर देखाएको उल्लेख गर्दै उनले आफूलाई सरकार प्रमुख (प्रधानमन्त्री)को जिम्मेवारी दिए काम गरेर देखाउने दाबी गरे।
बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा भाषण गर्ने फुर्सद नभएको बताएर चार वर्ष काममा मात्र केन्द्रित भएको र पदबाट राजीनामा दिएपछि मात्र बोल्ने फुर्सद मिलेको बताए। आफ्नो कार्यकालको समीक्षा गर्दै बालेनले भने, ‘करिब चार वर्ष म मेयरको कुर्सीमा बसें तर यसबिचमा मैले धेरै मान्छेसँग भेटघाट पनि गरिनँ, भाषण पनि गरिनँ। मलाई काम गर्नमै भ्याइनभ्याइ थियो।’ उनले अगाडि थपे, आइतबार राजीनामा दिएपछि बल्ल मलाई फुर्सद भयो र आज(सोमबार) यहाँ उभिएर बोल्न पाएको छु।’ पुराना नेताहरूले कामभन्दा बढी भाषण र भेटघाटमा समय बिताउने गरेकोप्रति संकेत गर्दै उनले आफू भने नतिजा र कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताए। मेयर हुँदा आफूले चुपचाप काम गरेको र त्यसको नतिजा अहिले काठमाडौंवासीले देखिरहेको उनको भनाइ थियो।
अब आफू पूर्णकालीन राजनीतिमा होमिएको र देशको नेतृत्व गर्न तयार रहेको सन्देश दिँदै उनले भाषणभन्दा पनि काम गर्ने ‘मुड’मा आफू रहेको दोहोर्याए। उनले भने, ‘मधेसके छौरा प्रधानमन्त्री बनतै से सोइच कँ भोट नै दियौ सही आदमी प्रधानमन्त्री बनैबाला है आइ ला भोट दियौ (मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भनेर मत नदिनुस्, सही मान्छे, सही सरकार बन्दै छ भनेर भोट दिनुस्।)’ उनले आफू काम गर्ने मान्छे रहेको भन्दै मधेसी जनतालाई भने, ‘काम दिनुस्, काम गरेर देखाउँछु। काठमाडौंवासीले जसरी काम गरेर देखाउन मलाई मौका दिनुभयो, त्यसरी तपाईंहरू पनि मलाई काम गर्न जिम्मा दिनुहुन्छ ?’ उनले आफूलाई संघीयता, प्रदेशप्रतिको धारणा के हो भनेर प्रश्न सोध्ने गरिएको पनि बताए। उनले भने, ‘प्रदेशलाई अझ बलियो बनाउनुपर्छ। प्रदेश एउटा गाउँको धारा जोड्न होइन, कम्तीमा तीन–चार पालिकालाई जोड्ने गरी विकास योजना बनाउने खालको हुनुपर्छ।’ बालेनले संघीयता भनिए पनि प्रदेश र स्थानीय तहले त्यसअनुसार अधिकार नपाएको जिकिर गरे। ‘जनकपुरको मेयर अहिले पनि प्रमुख प्रशासकीय अधिकृतका लागि काठमाडौं जानुपर्छ ? मधेसको राजधानी जनकपुर हो नि १ काठमाडौं घुम्न जानुस्, पशुपति, स्वयम्भू घुम्न जानुस्, अधिकार माग्न जानु नपरोस्।’
बालेले काठमाडौं महानगरपालिले वार्षिक २० हजार विद्यार्थीलाई राम्रा र महँगा कलेज, विद्यालयमा छात्रवृत्ति दिएर पढाउने गरेको उदाहरण दिँदै त्यसलाई समाजवादका रूपमा प्रस्तुत गरे। यस्तो समाजवाद सबै प्रदेश र पालिकामा चाहिएको उनको भनाइ थियो। समाजवादको व्याख्या गर्दै बालेनले भने, विद्यार्थीले कलेजमा निस्शुल्क पढ्न पाउनु, अस्पतालमा निस्शुल्क उपचार पाउनु नै समाजवाद हो। यस्तो व्यवस्था सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो। बालेनले आफू काम गर्ने मानिस भएको उल्लेख गर्दै काम गर्न मौका दिन आग्रह गरे।
बालेनको करिब १० मिनेटको भाषण कुनै नेताप्रति लक्षित थिएन। उनले आफुले मेयर हुँदा गरेका काम र आगामी योजनाबारे मात्र बोलेका थिए। उनी बोल्दा भिडले उत्साहित हुँदै ‘बालेन–बालेन’को नारा लगाउँथ्यो। माहोल हेर्दा लाग्थ्यो, यो जनसागर बालेनलाई सुन्न र हेर्न मात्र उर्लिएको हो। तिरहुतिया गाछीको क्षमता २० हजार मानिस अटाउनेछ। सभास्थल पुरापुर भरिएर पर्खाल र छेउछाउका रूख र घरमा समेत मानिस भरिएका थिए। मधेसको आठ वटै जिल्लाबाट बालेनलाई सुन्न भिड लागेको थियो। बालेन बोल्नुअघि र पछि बोल्ने नेताहरूको भाषणमा भिडको ध्यान देखिन्नथ्यो। भिडले बालेनको मात्र माग गरिरहेको थियो।
बालेनको मन्तव्यपछि रास्वपाका सभापति रवि लामिछाने बोलिराख्दा पनि भिडमा ‘बालेन–बालेन’को आवाज निरन्तर धन्किरहेको थियो। लामिछानेले बालेन शाहसँग आफूहरूबिचको वार्ता पाँच मिनेटमै टुंगिएको बताए। पदको भागबन्डामा पनि कुनै विवाद नभएको उनको दाबी थियो। ‘हामीबिचको वार्ता केवल पाँच मिनेटमै सकिएको हो। बाँकी समय त हामीले एकअर्कालाई चिन्न र बुझ्न मात्र खर्च गरेका हौं,’ उनले भने, ‘बालेनजीले आफ्नो सपना सुनाउनुभयो, मैले मेरो सपना सुनाएँ। जब सपना एउटै देखियो, तब पद कसले लिने र को ठुलो बन्ने भन्ने विषय गौण बन्यो।’ उनले थपे, ‘हामीले एकअर्काको सपना साटासाट गर्यौं। भेट भएको पाँच मिनेटमै हामीलाई महसुस भयो कि हामी अब अलगअलग होइन, सँगै हिँड्नुपर्छ।’
स्वर्णिम वाग्लेसहितको उपस्थितिमा भएको उक्त छलफलमा बालेनले देश बनाउने हुटहुटी देखाएपछि आफू पछि हटेर उनलाई भावी प्रधानमन्त्री मान्न तयार भएको लामिछानेले बताए। आफूले स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए। ‘मैले आमाको तस्बिरमा हेरेर भनें– आमा १ बालेनले देश बनाउँछ। बालेनले हाम्रो सपना पूरा गर्छ। यसको साक्षी मेरी श्रीमती पनि छिन्,’ उनले भने। सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्याउन सक्ने उनको भनाइ थियो।
लामिछानेले अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको उल्लेख गर्दै त्यसपछि आफूलाई छलछाम गरेर हटाइएको आरोप लगाए। उनले अब पार्टीलाई थप सशक्त बनाउँदै जनताबाट अभूतपूर्व समर्थन प्राप्त गर्ने र संसदमा बलियो उपस्थितिसहित प्रवेश गर्ने संकल्प व्यक्त गरे।
रास्वपा नेत्री सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा देख्न पार्टी र देश तयार रहेको बताइन्। उनले जन्मले मधेसको छोरो र कर्मले काठमाडौंको छोरो बालेन र रास्वपा सभापति रवि लामिछाने एकै मञ्चमा उभिनु ऐतिहासिक क्षण भएको बताइन्। ‘बालेन साहजीको आगमनले राष्ट्रिय स्वतन्त्र पार्टी आज पूर्ण भएको महसुस गरेको छु,’ उनले भनिन्, ‘रवि लामिछाने र बालेन साहको उपस्थितिले अबको नेतृत्व र भविष्य देखेको छ।’
रास्वपाका प्रवक्ता मनीष झाले आगामी निर्वाचनमा आफूहरूलाई एकपटक मौका दिन आग्रह गर्दै पाँच वर्षपछि पुनः भोट माग्न नभई पाँच वर्षको कामको हिसाबकिताब अर्थात् रिपोर्ट कार्ड लिएर जनतामाझ आउने उद्घोष गरे। ‘एकचोटि मौका दिनुस्, अर्को पटक अर्थात् १८२५ दिनपछि हुने चुनावमा अरूहरूले जस्तो फेरि मौका देऊ भनेर याचना लिएर आउनेछैनौं,’ उनले भने, ‘हामी हाम्रो रिपोर्ट कार्ड लिएर आउनेछौं कि पाँच वर्षमा हामीले के–के गर्यौँ।’ आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरमै भएको स्मरण गर्दै झाले चियापसलदेखि लस्सी पसलसम्म र चोकदेखि घरघरसम्म पुगेर जनताका समस्या सुन्ने र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एक अनुयायी र सहकर्मीका रूपमा रहन चाहन्छु,’ झाले भने, ‘तर त्यसका लागि तपाईंहरूको मत, मन र आशीर्वाद चाहिन्छ।’ जनकपुरधामको विकासको खाका प्रस्तुत गर्दै उनले यहाँ राम जानकी रंगशाला निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्ने र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाए।
रास्वपामा नवप्रवेशी नेता डा अमरेशकुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन देशको ‘महानायक’को पदवी दिँदै भने, ‘अब मधेसले देशलाई प्रधानमन्त्री दिन सक्नुपर्छ। जेनजी आन्दोलनलाई सफल बनाउन र देशमा सुशासन कायम गर्न बालेनलाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन।’ रास्वपाले प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तन उद्घोषसभा’मार्फत आफ्नो चुनावी सभाको सुरुवात गरेको बताएको छ। चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’ भन्दै मत मागेका थिए। सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुरधाम आइपुगेका थिए।
रास्वपा सभापति लामिछाने सोमबार जनकपुरधाम आइपुगेका थिए। बालेन सोमबार बिहानै अमरेश सिंहसँग जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए। त्यसपछि बालेन र सिंहसहितका नेताहरू लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गर्न लहान पुगेका थिए। बिहानै मधेसी सहिद प्रतिमामा माल्यार्पण गरी उनले मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेर मन जित्ने प्रयास गरेका थिए। बालेन हेर्न जम्मा भएको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।
२०६३ सालमा भएको विभेदविरुद्ध पहिलो मधेस आन्दोलनमा माघ ५ गते रमेश महतो पहिलो सहिद भएका थिए। त्यसपछि चर्किएको आन्दोलनमा माघ ६ गते थप चार जना सहिद भएका थिए। पहिलो मधेस आन्दोलनका पाँचै जना सहिदको लहानमा प्रतिमा बनाइएको छ। हरेक माघ ५ गते मधेस बलिदानी दिवस मनाउँदै सहिदलाई सम्झने गरिएको छ।
मधेसी खेद्नेलाई बेलैमा चिनौँः राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेस विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गरेका हुन्। राउतले मधेसीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेसीलाई काठमाडौंमा बचाउनु र आत्मसम्मान दिलाउनु महत्त्वपूर्ण भएको जिकिर गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।




















