इटहरीः प्रदेश १ को व्यस्त पर्यटकीय हिल स्टेसन भेडेटार अब ३ वटा गौरवका सडक आयोजनाको ट्रान्जिट बन्ने भएको छ । धनकुटा र सुनसरीको सीमामा टुसुक्क बसेको भेडेटार चीन र भारत जोड्ने २ वटा उत्तरदक्षिण लोकमार्ग र मेची तथा कोशी अञ्चलको पहाडी भूमाग जोड्ने सडकको ट्रान्जिट बन्ने भएको हो । यी हुन् भेडेटारलाई पर्यटकीय चलहपहल मात्रै नभएर पारवाहनको चहलपहल केन्द्र बनाउने ३ वटा गौरवका सडक आयोजनाहरूः

१. किमाथाङ्का–जोगबनी सडक खण्ड
चीन र भारत जोड्ने किमाथाङ्कादेखि जोगबनीसम्मको ३ सय ९० किलोमिटर सडक खण्डको बाटो भेडेटार भएरै जान्छ । यो सडक खण्डमा किमाथाङ्कासम्म ट्रयाक खोल्न मात्रै १४ किलोमिटर बाँकी छ ।

२. तमोर करिडोर
चीन र भारत जोड्ने भेडेटार भएरै जाने अर्को त्रिदेशीय राजमार्ग हो तमोर करिडोर । धनकुटाको मूलघाट हुँदै तमोरको किनारैकिनार गएर पाँचथर हुँदै ताप्लेजुङको उत्तरी नाका ओलाङचुङगोला पुग्ने सडक निर्माण पनि तीव्र गतिमा हुँदै छ ।

विराटनगर, इटहरी, धरान, भेडेटार, मूलघाट हुँदै उत्तरी नाका सम्मको दूरी २ सय ७० किलोमिटर रहेको छ । यो प्रदेश १ को सबैभन्दा छोटो उत्तरदक्षिण सडक हो । यो सडकको हाल ट्रयाक खुल्ने क्रम जारी छ । २०६७ सालबाट शुरु भएको यो परियोजनाबाट ताप्लेजुङ र सुनसरीको सडक दूरी ४ घन्टाको हुनेछ । यो दूरी ताप्लेजुङबाट हाल झापा आउने सडक समयको आधा कम हो ।

३. राँके–रवि–भेडेटार सडक
हाल धनकुटाबाट इलाम र पाँचथर जाने स्तरीय सडक छैनन् । तर, राँके, रवि र भेडेटार जोड्ने १ सय किलोमिटर लामो सडक बनेर कालेपत्रे भएसँगै यो समस्या समाधान हुने भएको छ । र, यसले भेडेटारको चहलपहलमा वृद्धि हुनेछ ।

गत पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो सडकको पिचकार्यको शिलान्यास गरेका थिए । सो सडकको ३ वर्षभित्रमा कालोपत्रे गरिसकिने बताइएको छ । कालोपत्रेको लागि भारतीय कम्पनी एफको एन्फ्राको प्रालिसँग ठेक्का सम्झौता भइसकेको छ । यसरी ३ वर्षभित्रमा भेडेटार आउन चाहने पाँचथर र इलामका स्थानीय तथा पर्यटकहरू सहजै केही घण्टामै भेडेटार आउन सक्नेछन् ।