इटहरीः  लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले जारी गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र मुगुका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ।


काठमाडौँको चन्द्रागिरि नगरपालिका–७, चिसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।


त्यस्तै, काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुकोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढी तथा पहिरोको जोखिमका कारण सवारी आवागमन प्रभावित भएको छ। प्रहरीले रातिको समयमा सडक सञ्चालनमा रोक लगाउँदै बिहानको अवस्था हेरेर सवारी सञ्चालन गराउने व्यवस्था गरेको जनाएको छ।


रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्डमा पूर्ण अवरोध रहेको छ।


यस्तै, नुवाकोटमा शिवपुरी गाउँपालिका क्षेत्रको टेखेलटोल तथा बेलकोटगढी नगरपालिका–९ लगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

1_405


धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीर तथा गजुरी गाउँपालिका–२, पेरोखाभिर क्षेत्रमा पहिरोका कारण पृथ्वी लोकमार्ग प्रभावित भएको छ। केही स्थानमा एकतर्फी सवारी सञ्चालन गराइएको छ भने केही स्थानमा साना सवारीलाई मात्र आवागमनको अनुमति दिइएको छ।


यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८, डुम्रे क्षेत्रमा अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।


कर्णाली प्रदेशअन्तर्गत मुगुको छायानाथ रारा नगरपालिका–४, ताल्चा क्षेत्रमा बाढी÷पहिरोका कारण मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।


प्रहरीले सडकको अवस्था हेरेर तत्काल सूचना तथा ट्राफिक व्यवस्थापन गरिरहेको जनाएको छ। यात्रु तथा चालकलाई सम्बन्धित सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।