इटहरीः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा  ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यससँगै स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोगस्वरूप रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।

कोषमा मौज्दात रहेको रकमलाई बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनामा प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको तयारी छ।