प्रेम बास्तोला
इटहरीः काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ स्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा तास खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २८ गते राति करिब २ बजे नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा तास खेलाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले क्यासिनोमा छापा मारेको थियो।
बुढानीलकण्ठ प्रहरी प्रभागबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा नेपाली नागरिकहरूलाई क्यासिनोमा प्रवेश गराई क्यासिनोका क्वाइनमा नगद सटही गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद १० लाख ६५ हजार ६ सय रुपैयाँ, विभिन्न दरका क्यासिनो क्वाइन तथा मोबाइल फोन बरामद गरेको छ। बरामद क्वाइनमध्ये ५० हजार रुपैयाँ अंकित ८ थान, १० हजार रुपैयाँ अंकित १९ थान, १ हजार रुपैयाँ अंकित ८८ थान र १ सय रुपैयाँ अंकित ५ थान रहेका छन्।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३४ वर्षीय विवेकी लामा, सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३२ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३९ वर्षीय पासाङ शेर्पा, सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३२ वर्षीया ज्योती मगर रहेका छन्।

त्यस्तै, दोलखा वैतेश्वर गाउँपालिका–६ घर भई काठमाडौं बानेश्वर बस्ने ३५ वर्षीय नारायण खत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ घर भई बस्ने ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–९ घर भई काठमाडौं टोखा बस्ने ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने ३२ वर्षीय संजय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने ४० वर्षीय आशिष खड्का, ललितपुर महानगरपालिका–६ बस्ने ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा चौबिसे गाउँपालिका–४ घर भई काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय सुदिप अधिकारी पक्राउ परेका छन्।
पक्राउ परेका उनीहरूलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई दुई दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




















