काठमाडौँः केही दिनअघि सडकमा गुडिरहेको विद्युतीय कारमा आगो लागेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । चितवनको भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकमा भदौ २६ गते बिहान भएको यस घटनामा कारधनी अमर पराजुलीको मृत्यु भयो ।
यसअघि पनि विद्युतीय गाडीमा आगलागिका घटना भइसकेको छ । यसरी गुडिरहेको विद्युतीय कारमा किन आगो लागिरहेको छ ? यो प्रश्न विद्युतीय सवारीचालकलाई मात्रै होइन आमउपभोक्तालाई सोच्न र खोज्न बाध्य बनाइरहेको छ । भदौ २६ गते चितवनमा र साउन ५ गते कीर्तिपुरमा दुई वटा कारमा आगो लाग्दा दुई जनाको ज्यान गएपछि समस्याको खोजी त हुन थालेको छ तर के कारणले आगो लाग्यो भन्ने कुरा तथ्यसहित आइसकेको छैन ।
गुडिरहेको गाडीमा आगलागी हुनु एक अत्यन्तै जोखिमपूर्ण र आपत्कालीन अवस्था मानिन्छ । विद्युतीय कारमा मुख्यतः ब्याट्री, मोटर र प्लगका कारणले आगो लाग्न सक्छ । साझा यातायातका प्राविधिक प्रमुख जनक रिसालले भने, “मुख्य कुरा ब्याट्री र मोटर हो । ब्याट्रीमा विद्युत् भण्डार हुन्छ । ९० प्रतिशत साना गाडीमा एसी मोटर हुन्छ । ब्याट्री, मोटर र प्लग तात्ने हुँदा तापक्रम सन्तुलनका लागि लिक्विड कुलर हुन्छ । चिसो बनाउने मेसिनले काम गरेन भने तापक्रम बढेर आगो लाग्छ ।”

हरेक गाडीमा आपत्कालीन व्यवस्था हुन्छ तर त्यसको प्रयोग सही ढङ्गले गर्न नजान्दा मान्छेको ज्यान जाने खतरा पनि हुन्छ । रिसालले भने, “गाडी हिँडेपछि ढोका सेन्टर लक हुन्छ । यो सुरक्षाकै लागि हो । आपत्कालीन अवस्थामा ढोका खुल्ने सिस्टम पनि हुन्छ तर आगो लागेपछि चालक आत्तिने र आपत्कालीन अवस्थाका विषयमा जानकारी नभएको पनि हुन सक्छ । आगो लागेपछि आपत्कालीन सिस्टमले काम नगरेको पनि हुन सक्छ । जसले गर्दा मान्छे भाग्न नसकेको होकी जस्तो पनि देखिन्छ ।”
अन्य कारणले पनि आगलागी हुन सक्छ । विद्युतीय सर्ट सर्किट, गाडीको वायरिङ पुरानो हुनु, मुसाले तार काट्नु, वा क्षमताभन्दा बढीका महँगा लाइट र ‘म्युजिक सिस्टम’ जस्ता थप उपकरण जडान गर्दा तार तातेर आगो लाग्न सक्छ ।
पेट्रोल, डिजेल वा मोबिल चुहावट भएर इन्जिनको तातो भागमा पर्न गएमा तुरुन्तै आगो सल्किन्छ । इन्जिन ओभरहिट हुनु कुलेन्ट कम हुनु वा रेडिएटरले काम नगर्दा इन्जिन अत्यधिक तातेर आगो लाग्न सक्छ । मापदण्डविपरीत ग्यास किट जडान गर्दा ग्यास लिक भएर विस्फोट हुने जोखिम हुन्छ ।
साउन र भदौमा दुई विद्युतीय कारमा आगो लाग्यो । घटना बढ्न थालेको तर सम्बन्धित निकाय, कम्पनी र सरोकारवाला पक्षबाट कुनै जवाफदेहिता नदेखिको व्यवसायीको गुनासो छ । यस्ता घटना कसरी हुन सक्छ र सावधानी के हो भन्नेबारेमा अन्योल सिर्जना गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भने, “सरकार र सम्बन्धित पक्षले भन्नु प¥यो आगो लाग्दा कसरी ज्यान बचाउने । आगो लाग्दा भित्रको मान्छे किन बाहिर भाग्न सक्दैन । किन ढोका खुल्दैन ? यस विषयमा जनचेतना अभिवृद्धि गर्नु पर्यो । सम्बन्धित कम्पनीका गाडीमा छानबिन गरिनु पर्छ ।”
राज्यले विद्युतीय गाडी प्रयोगमा प्रोत्साहित गरिरहँदा यस्ता घटना भइरहनुले चुनौती थपेको उनको भनाइ छ, “गाडी बेच्नेले सुरक्षा पनि सिकाउनु पर्यो । सम्भावित दुर्घटना र सावधानीका उपायहरू त बताउनु पर्छ । मान्छेले गाडी किनेर त्यही गाडीभित्र जलेर पर्नुपर्ने अवस्था हुँदा पनि कुनै छानबिन हुँदैन । तिनै गाडीलाई बिक्रीको स्वीकृति दिइन्छ ।”
आगो लागिहाल्यो भने सम्बन्धित गाडीको आपत्कालीन प्रणालीका बारेमा बुझ्न जरुरी छ । मुख्य कुरा ब्याट्री, मोटर र प्लगसम्बन्धी जानकारी लिनु पर्छ । नियमित सर्भिस र परीक्षण गर्नुपर्ने रिसालको भनाइ छ, “सवारी किन्दा साधारण अवस्थाको मात्र होइन, आपत्कालीन अवस्थाका प्रणालीका बारेमा जानकारी लिनुहोस् र अभ्यस्त हुनुहोस् ।” यो खबर आज प्रकाशित गोरखापत्र दैनिकबाट लिइएको हो ।




















