झापाः  झापाको बुद्धशान्ति गाउँपालिका–४ खन्युगडामा १७ वर्षीया किशोरी आफ्नै कोठामा मृत फेला परेकी छन्।

मृत्यु हुनेमा शम्भु तामाङकी छोरी सविक्षा तामाङ रहेकी छन्। उनी मामा शरण श्रेष्ठको घरमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार सविक्षा आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। बिहान कोठाको ढोका भित्रबाट बन्द रहेको अवस्थामा देखिएपछि परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएको जनाइएको छ।

घटनाको जानकारी पाएपछि मङ्गलबारे अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) ओम थापा मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक मुचुल्कालगायतका प्रक्रिया अघि बढाएको जनाएको छ।

सविक्षाको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।