इटहरीः सुनसरीको खनारमा बुधबार राति सरकारी नम्बर प्लेटको स्कारपियो दुर्घटनामा परेको छ। बा.२ झ. १०४६ नम्बरको उक्त स्कारपियो राति करिब १२ः३० बजे दुर्घटनामा परेको हो।


स्थानीयका अनुसार तीव्र गतिमा रहेको स्कारपियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनाका बेला चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी चलाएको स्थानीयले दाबी गरेका छन्। यद्यपि, चालकले मादक पदार्थ सेवन गरे–नगरेको विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भइसकेको छैन।


दुर्घटनापछि स्थानीयले स्कारपियोलाई नियन्त्रणमा लिएर खनार प्रहरीलाई बुझाएका थिए। उक्त गाडी इटहरी उपमहानगरपालिकाका चालक प्रकाश चौधरीले चलाएको बताइएको छ।


स्थानीयका अनुसार दुर्घटनाको समयमा स्कारपियोमा सरकारी कर्मचारी नभई चार जना युवा सवार थिए। सरकारी प्रयोजनका लागि प्रयोग हुने गाडीमा गैरसरकारी व्यक्ति रातिको समयमा सवार रहेको विषयले समेत प्रश्न उठाएको छ।

s1


बुधबार बिहान इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले  प्रहरी कार्यालयबाट स्कारपियो जिम्मा लिएर लगेका छन्। चालक चौधरी उनका नातेदार हुन् ।


उक्त स्कारपियो इटहरीस्थित सोल्टी होटलमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेलामा प्रयोग हुँदै आएको बताइएको छ। गाडी युवा, श्रम तथा रोजगार मन्त्रालयको नाममा रहेको जनाइएको छ।


सरकारी नम्बर प्लेटको गाडी रातिको समयमा कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो, त्यसमा चार जना युवा किन सवार थिए, चालकको अवस्था कस्तो थियो र दुर्घटना कसरी भयो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन।


घटनापछि सरकारी सवारीसाधनको प्रयोगसम्बन्धी मापदण्ड पालना भए–नभएको, चालकले मादक पदार्थ सेवन गरेका थिए वा थिएनन् तथा गाडी प्रयोगका लागि अनुमति थियो कि थिएन भन्ने विषयमा छानबिन गर्नुपर्ने माग उठेको छ।


घटनाको वास्तविकता सम्बन्धित निकायको अनुसन्धान तथा छानबिनबाट स्पष्ट हुने देखिएको छ।