निक्षेप १९.३ प्रतिशत र ऋण लगानी ८.६२ प्रतिशतले बढ्यो, शेयर सदस्य संख्या ८०८ पुग्यो
इटहरीः एकआपस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, इटहरी–६, सुनसरीले आर्थिक वर्ष २०८२/०८३ मा गत आर्थिक वर्षको तुलनामा खुद नाफा ९.५ प्रतिशतले वृद्धि गर्दै ३६ लाख ६७ हजार ८८० रुपैयाँ १२ पैसा नाफा आर्जन गर्न सफल भएको छ।
संस्थाको २२औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सुलन काकीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा शेयर सदस्यता, शेयर पूँजी, निक्षेप संकलन तथा ऋण लगानीलगायतका वित्तीय सूचकमा उल्लेख्य प्रगति गरेको जानकारी दिइएको हो। साधारणसभा २०८३ साल असोज १७ गते शनिबार सम्पन्न भएको हो।
अध्यक्ष काकीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थामा ४१२ जना पुरुष, ३४६ जना महिला र ९ वटा संस्थागत गरी कुल ७६७ जना शेयर सदस्य रहेका थिए। चालु आर्थिक वर्षमा ५२ जना सदस्य थपिए पनि ११ जनाले सदस्यता त्याग गरेपछि समायोजन गर्दा शेयर सदस्य संख्या ८०८ पुगेको छ। हाल संस्थामा ४२१ पुरुष, ३७८ महिला र ९ वटा संस्थागत सदस्य रहेका छन्।

यससँगै संस्थाको शेयर पूँजी पनि १.७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ७५ लाख ३२ हजार ९०० रुपैयाँ रहेको शेयर पूँजी आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म १ करोड ७८ लाख ३४ हजार २०० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
निक्षेप संकलनमा उल्लेख्य वृद्धि
संस्थाको निक्षेप संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म ५ करोड १९ लाख १० हजार ४९४ रुपैयाँ बचत रहेकोमा आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म १९.३ प्रतिशतले वृद्धि भई ६ करोड १९ लाख १३ हजार ८५३ रुपैयाँ पुगेको छ।
संस्थाले सदस्यहरूको बचत संकलनलाई प्राथमिकता दिँदै सुरक्षित तथा व्यवस्थित वित्तीय सेवा प्रदान गर्दै आएको अध्यक्ष काकीले प्रतिवेदनमार्फत जानकारी गराएका छन् ।
२२५ सदस्यलाई १० करोडभन्दा बढी ऋण लगानी
सहकारीले सदस्यहरूलाई प्रदान गर्ने ऋण लगानीमा समेत वृद्धि गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड ५४ लाख ६२ हजार ४६ रुपैयाँ ऋण लगानी गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ मा थप ८२ लाख २० हजार ३५२ रुपैयाँ वृद्धि भई विभिन्न २२५ जना सदस्यलाई कुल १० करोड ३६ लाख ८२ हजार ३९८ रुपैयाँ ऋण लगानी गरिएको छ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८.६२ प्रतिशतको वृद्धि हो।
संस्थाले ऋण लगानीसँगै कर्जा असुली तथा जोखिम व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। संस्थाको पन्ध्रौँ वार्षिक साधारणसभाबाट पारित शेयर, बचत तथा ऋण प्रवाहसम्बन्धी कार्यविधि, २०७६ को दफा २४ को उपदफा २४.३ बमोजिम कर्जा अपलेखन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, ३५ जना सदस्यको कर्जा सम्बन्धमा स्थानीय तह तथा सहकारी विभागबाट प्राप्त निर्देशनअनुसार वर्गीकरण गरी जोखिम व्यहोर्ने कोषमा ४४ लाख ९६ हजार ५२० रुपैयाँ व्यवस्था गरिएको अध्यक्ष काकीले जानकारी गराएका छन् ।
सहकारी क्षेत्रप्रति सदस्यको विश्वास बढ्दो
सदस्य संख्या, बचत संकलन, शेयर पूँजी तथा ऋण लगानीमा भएको वृद्धिले संस्थाप्रति सदस्यहरूको विश्वास र संस्थाको वित्तीय गतिविधि विस्तार हुँदै गएको देखाएको छ।
अध्यक्ष काकीले संस्थाले आगामी दिनमा पनि सदस्यको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै सहकारीका मूल्यमान्यता र सिद्धान्तअनुसार पारदर्शी, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदनले संस्थाले वित्तीय कारोबारसँगै जोखिम व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै संस्थालाई थप सबल र व्यवस्थित बनाउने दिशामा अघि बढिरहेको देखाएको छ।




















