इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१८, नयाँटोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगद ३ लाख ७१ हजार १० रुपैयाँ र ताससहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार २०८३ साल असोज ३० गते दिउँसो ३ बजेर १० मिनेटमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इटहरी–१८, नयाँटोलस्थित ५२ वर्षीय दुर्गाबहादुर कार्कीको घरमा जुवा खेल भइरहेको सूचनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष टोली(एसटीएफ) र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
पक्राउ पर्नेमा को–को छन् ?
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका–२ का ४० वर्षीय विश्वास थापा मगर, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय कुमार राई, इटहरी उपमहानगरपालिका–१८ का ५२ वर्षीय घरधनी दुर्गाबहादुर कार्की, इटहरी–२० का ३५ वर्षीय संजिव श्रेष्ठ र बराहक्षेत्र नगरपालिका–५ का २८ वर्षीय बिकास बस्नेत रहेका छन्।

नगद र तास बरामद
प्रहरीले जुवा खेलिरहेको स्थानबाट ३ लाख ७१ हजार १० रुपैयाँ नगद र तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकली, सुनसरीमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




















