इटहरीः धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश प्रवाह गर्दै इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राम टोल विकास संस्थाले दुर्गा पूजा तथा फूलपाती बढाइँ कार्यक्रम आयोजना गरेको छ। विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिका समुदायलाई एकै ठाउँमा जोड्दै आपसी सद्भाव, प्रेम, भाइचारा र मेलमिलाप कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले धार्मिक तथा सांस्कृतिक पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरे।

उनले धार्मिक आस्था, विश्वास र परम्पराको संरक्षणमा यस्ता कार्यक्रमको महत्त्व रहेको उल्लेख गर्दै दुर्गा पूजाले सत्यको विजय र असत्यमाथि सत्यको जितको सन्देश दिने बताए।

देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक प्रसङ्गले अन्याय र असत्यमाथि सत्यको विजय हुने सन्देश दिने उल्लेख गर्दै सांसद चौधरीले यस्ता पर्वले समाजमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक परिवर्तनको भावना जगाउने धारणा व्यक्त गरे।
बालग्राम टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर विष्टका अनुसार चाडपर्व रमाइलो र उत्सव मनाउने अवसर मात्र नभई आपसी प्रेम, सद्भाव, भाइचारा, सामाजिक एकता र सांस्कृतिक पहिचानका अमूल्य धरोहर पनि हुन्। जात, धर्म, भाषा र संस्कृतिभन्दा माथि उठेर एकअर्काको सम्मान गर्ने संस्कार विकास गर्न तथा समाजमा शान्ति र सद्भाव कायम राख्न कार्यक्रम आयोजना गरिएको उनले बताए।
विविध संस्कृति र मौलिक परम्पराको प्रदर्शन
फूलपाती बढाइँ कार्यक्रममा मौलिक पञ्चेबाजा, नौमती बाजा, विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत भेषभूषासहित टोल परिक्रमा गरिएको थियो। कार्यक्रममा राई समुदायको साकेला नाच तथा थारू समुदायको सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो।

विभिन्न समुदायका मौलिक कला, संस्कृति र परम्परालाई एउटै उत्सवमा समेटेर सामाजिक एकताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको अध्यक्ष विष्टले बताए। उनका अनुसार फरक जातजाति, भाषा र संस्कृतिका मानिसलाई एउटै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी गराउँदा आपसी सम्बन्ध बलियो हुनुका साथै सामाजिक मेलमिलापसमेत बढ्छ।
विभिन्न धार्मिक स्थलको परिक्रमा
फूलपाती बढाइँका क्रममा बालग्राम टोल विकास संस्थाको भवनस्थित पूजा मण्डपबाट सुरु भएको यात्रा रामजानकी मन्दिर, शक्तिपीठ, माता सरस्वती तथा जप्दी माताको स्थल हुँदै लबीपुर र मङ्गलबारे हाट क्षेत्र पुगेको थियो।

त्यसपछि पाथीभरा माताको शक्तिपीठमा दर्शन तथा परिक्रमा गर्दै हनुमान मन्दिरको परिक्रमा गरिएको थियो। विभिन्न धार्मिक स्थलको परिक्रमा सम्पन्न गरी सहभागीहरू पुनः बालग्राम टोल विकास संस्थाको भवनमा फर्किएपछि कार्यक्रम समापन गरिएको थियो।
चार वर्षदेखि प्रहरीको सलामी दिने परम्परा
कार्यक्रमको समापनअघि नेपाल प्रहरीको टोलीले दुर्गा मातालाई सलामी अर्पण गरेको थियो। अध्यक्ष विष्टका अनुसार बालग्राम टोलमा विगत चार वर्षदेखि फूलपाती बढाइँ कार्यक्रमका अवसरमा प्रहरीको टोलीले दुर्गा मातालाई सलामी अर्पण गर्दै आएको छ। यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिइएको उनले बताए।

धार्मिक आस्था र परम्परालाई सम्मान गर्दै प्रहरीको सहभागितामा सलामी अर्पण गर्ने कार्यक्रमले उत्सवको गरिमा थप बढाएको आयोजकको भनाइ छ।
दुर्गा मातालाई सलामी दिएपछि बालग्राम टोल बिकास संस्थाका अध्यक्ष लोकबहादुर बिष्ट र इटहरी १६ की वडा महिला सदस्य खिना खतिवडाले आफ्नो धारण राख्दै शुभकामना दिएका थिए ।
दुर्गा माता फुलपाती बढाई कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष लक्ष्मि प्रसाद बन्जराले गरेका थिए भने सचिव तारा दुलाल लुईटेल कार्यक्रम संचालन गरेकी थिइन् ।
कार्यक्रम समापनपछि आयोजकले सालको पातको वोतामा हलुवा र मोही प्रसाद वितरण गरेको थियो ।
२१० घरधुरीको सहभागिता रहेको टोल
बालग्राम टोल विकास संस्थामा हाल करिब २१० घरधुरी रहेको अध्यक्ष विष्टले जानकारी दिए। उनका अनुसार यसअघि संस्थामा २१७ घरधुरी रहेका थिए। केही परिवार बसाइँ सरेपछि हाल कायम घरधुरीको संख्या घटेको हो।

विभिन्न समुदायको सहभागिता, मौलिक बाजागाजा, सांस्कृतिक नाच, धार्मिक परम्परा र प्रहरीको सलामीसहित सम्पन्न फूलपाती बढाइँ कार्यक्रमले बालग्राम टोलको धार्मिक तथा सांस्कृतिक पहिचान उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ।






















