इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१८ स्थित सुनौलो सेकुवा कर्नरबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय सोही वडा निवासी नजाम हुसैन र २५ वर्षीय मो. नजाम रहेका छन्।


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उक्त स्थानमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

najam vai


प्रहरीले सुनौलो सेकुवा कर्नरमा शंकास्पद अवस्थामा बसिरहेका व्यक्तिहरूमाथि निगरानी तथा खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ०.४२ ग्राम र नगद ४ हजार ३३० रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई बरामद पदार्थ तथा नगदसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


लागूऔषधविरुद्धका अभियानकर्मीमाथि आक्रमणको आरोप लागेका व्यक्ति पनि पक्राउ


पक्राउ परेकामध्ये नजाम मियाँ केही दिनअघि इटहरीमा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा ओसारपसारविरुद्ध अभियान सञ्चालन गरिरहेका अभियानकर्मीमाथि भएको भनिएको आक्रमणको घटनासँग समेत जोडिएका व्यक्ति हुन्।


स्थानीय अभियानकर्मीहरूका अनुसार इटहरी उपमहानगरपालिका–१७ का अध्यक्ष प्रभातकुमार आचार्यसहितको टोली लागूऔषध नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय रहेका बेला नजामसहितको समूहले उनीहरूमाथि आक्रमण गरेको आरोप छ। उक्त घटनामा सुजित, रौनियाँलगायतका अभियानकर्मी घाइते भएको बताइएको छ।


दुवै पक्षबाट उजुरी, अनुसन्धानको विषय


उक्त घटनापछि अभियानकर्मी सुजितकुमारलगायतले नजामविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएको बताइएको छ। अर्कोतर्फ, अभियानकर्मीहरूले अनावश्यक खानतलासी गर्ने, दुःख दिने तथा आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै नजाम पक्षले पनि अभियानकर्मीविरुद्ध आवश्यक कारबाहीको मागसहित प्रहरी कार्यालयमा निवेदन दिएको बताइएको छ।


पटकपटक पक्राउ परेको दाबी, कानुनी प्रक्रियामाथि प्रश्न


स्थानीय स्रोत तथा अभियानकर्मीहरूको दाबीअनुसार नजाम मियाँ यसअघि पनि लागूऔषधसम्बन्धी घटनामा पक्राउ पर्दै आएको व्यक्ति हुन्। उनी लागूऔषधको कारोबारमा संलग्न रहेको र विगतमा पटकपटक पक्राउ परेपछि धरौटीमा छुटेको दाबीसमेत गरिएको छ। उनको परिवारका अन्य सदस्यहरू पनि लागूऔषध ओसारपसारसम्बन्धी घटनामा पक्राउ परेको दाबी स्थानीयस्तरमा गरिएको छ।