इटहरीः सुनसरीको इनरुवामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा  नगरपालिका –४ स्थित हनुमान मन्दिर नजिक ज्ञानोदय टोलमा गाँजा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय बुलबुल यादवको घरकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ ९१५.६८ किलो बरामद गरेको जनाएको छ। सोही क्रममा प्रहरीले को २६ प ४९९९ नम्बरको मोटरसाइकल समेत फेला पारेको थियो।

gaja press

प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

बरामद गरिएको लागूऔषध गाँजा र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिएका छन् ।