इटहरीः अर्नाको थप प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन क्षेत्रसँग आबद्ध संस्था होटल व्यवसायी सङ्घ इटहरीले एक कार्यक्रमको आयोजना गर्ने भएको छ । मङ्गलबजार इटहरीको बरण्डा होटलमा पत्रकार सम्मेलनमार्फत् माघ २४ गतेदेखि शुरु हुने इटहरी फुड फेस्टिबलमा मुख्य आकर्षण मध्येको एक आकर्षण अर्नाको प्रतिमा राख्न लागिएको जानकारी दिइएको छ ।

संस्थाका अध्यक्ष जीवन पराजुलीले लोप हुने अवस्थामा रहेको अर्नाको उचित प्रचारप्रसार नभएको हुँदा पर्यटनआबद्ध संस्थाले अर्नाकै उचाइअनुसारको दुरुस्त मूर्ति बनाउन कलाकारलाई जिम्मा दिइएको जानकारी दिए । यसले अर्नाबारे थप जानकारी दिने र नदेखेकालाई जानकारी मिल्ने उनको भनाइ छ ।

चितवनमा गैँडाको व्यापाक प्रचारले गैंडा हेर्न मात्र दिनहुँ हजारौँ व्यक्ति आउने हुँदा सुनसरीमा मात्र पाइने अर्नालाई थप प्रचार गर्न आवश्यक रहेको उनले तर्क गरे ।
आयोजकका अनुसार कार्यक्रम स्थलमा २ वटा अर्नाको प्रतिमा राखिने छ । जहाँ आगन्तुकले सहज तरिकाले अर्नासँग सेल्फी लिन सक्नेछन् भने अर्नाबारे राखिएका महत्वपूर्ण जानकारीमूलक सामग्रीको अध्ययन गर्नेछन् ।

food festival 1

दुर्लभ वन्यजन्तुमा पर्ने अर्ना नेपालमा कोशी टप्पु वन्यजन्तु आरक्षमा मात्र पाइन्छ । लोप हुने खतरामा रहेको यही अर्ना हेर्न विश्वका पर्यटक कोशी टप्पु पुग्ने गर्छन् ।

सङ्घले नेपाली मौलिक खानाको पनि प्रवद्र्धन गर्ने कार्यक्रम राखेको छ । नेवारी, राजवंशी, थारु, राई, लिम्बूलगायतका समुदायको खानालाई पनि प्रवद्र्धन गर्ने गरी फुड फेस्टिबलमा राखिने कार्यक्रम रहेको संयोजक दीपक पोख्रेलले जानकारी दिए ।

त्यसैगरी हेलिकोप्टरबाट इटहरी आपसासका क्षेत्र अवलोकनसहित पाथीभरा मन्दिरसम्मको हवाइ उडान गर्ने कार्यक्रम रहेको बताइएको छ । लालीगुराँसको प्रतिमा पनि मेलाको अर्को आकर्षण हुने जानकारी दिइएको छ ।