इटहरीः जनवरी १७ तारिखका दिन भारतीय लोकप्रिय टेलिभिजन च्यानल जी टिभीले एउटा कार्यक्रमको प्रोमो सार्वजनिक ग¥यो । सारेगम लिटिल च्याम्स नामक रियालिटी शोमा देखिएको उक्त प्रोमोमा सुनसरीको इटहरीका ११ वर्षीय प्रीतम आचार्य देखिन्छन् ।

उनको गायकीको प्रतिभाको यति धेरै प्रशंसा भयो कि त्यही प्रोमोलाई अहिले भारतको लोकप्रिय जी टिभीमा बारम्बार देखाइएको छ । सो कार्यक्रमका निर्णायकले उनको धेरै प्रशंसा गरेका छन् । उनीहरू प्रीतमले गाइरहेको स्थानमा पुगेर प्रीतमलाई काँधमा बोकेका छन् र भनेका छन्, ‘यो मञ्च उसैका लागि बनेको हो ।’

युट्युबमा समेत भाइरल भएको यो भिडियोले देशको नाम उच्च राखेको छ । कारण गीत गाउने प्रीतमले देशको झण्डा अङ्कित लोगो छातीमा रखेका छन् र लगाएका छन् नेपाली शान ढाका टोपी । भारतका करिब साढे ७ लाख प्रतिष्पर्धीलाइ पछि पार्दै दिल्लीको २ अडिसन पार गरेर उनी मुम्बई अडिसनमा अन्तिम ३० मा पर्न सफल भएका हुन् ।

टेलिभिजनको टीमसहित नेपाल आएका प्रीतम बुधबार पुनः मुम्बई उडिसकेका छन् । कार्यक्रमको टोलीले नेपालमा भित्रिएदेखि उनी पढ्ने विद्यालय, सङ्गीत स्कुल, घर तथा गृह नगरको सुटिङ सकेर उनलाई पुनः भारत लगेको छ । उनलाई इटहरी सरकारलेसमेत औपचारिक स्वागत गरेको थियो । अब उनको कडा प्रतिष्पर्धा शुरु हुँदैछ । आमाको साथमा उनी बागडुगरा विमानस्थलबाट मुम्बई उडेका छन् ।

pradeshportal pritam aacharya

प्रीतमको पारिवारिक ‘ब्याकग्राउण्ड’
सामान्य परिवारमा जन्मेका प्रीतम परिवारका दोस्रो सन्तान हुन् । दिदी प्रिया, आमा राधिका र बुवा काशीसहितको ४ सदस्य परिवार छ उनको । बुवा काशी इटहरीस्थित टाटा मोटर्स कम्पनीको सिप्रदी ट्रेडिङमा काम गर्छन् । आमा सामान्य गृहणी हुन् । इटहरीको विश्व आदर्श एकेडेमीको कक्षा ६ का विद्यार्थी हुन् उनी ।

परिवारिक वातावरणले नै सङ्गीतप्रति लगाव बढाएका प्रीतमले ५ वर्षकै उमेरदेखि गीत गाउन शुरु गरेको उनका बुबा बताउँछन् । ‘उसको क्षमता देखेर नै हो हामीले गीत सङ्गीतमा लाग्न प्रेरित गरेको’, बुबा काशीले भने ।
उनलाई विद्यालयले सहुलियतमा अध्यापन गराएको छ । एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले सङ्गीतमा मात्र नभएर मिलनसार र बहुप्रतिभाको धनी रहेका प्रीतमले देशको नाम उच्च राख्नेमा आफू विश्वस्त भएको बताए । ‘प्रीतम हाम्रो परिवारको सदस्य हो’, उनले भने, ‘उसको भावी यात्राको बारेमा समेत हामी सचेत र जिम्मेवार छौँ ।’

pritam aacharya pradeshportal (1) 11तस्बिरः गुरू ढकाल

साङ्गीतिक यात्रा
इटहरीबाट प्रशारित एरिना टेलिभिजनले ३ वर्ष अघि प्रशारण गरेको पूर्वाञ्चल स्कुल आइडलमा सहभागी भएका प्रीतमले राम्रो प्रतिक्रिया पाए । मञ्च शेयर गर्ने र निर्धक्क भएर बोल्न सक्ने बानीको विकास भएपछि उनको साङ्गीतिक यात्राले थप निखारता पाएको बुबाको अनुभव छ ।

त्यसपछि कान्तिपुर टेलिभिजनले सञ्चालन गरेको कार्यक्रम सुरशालामा फस्ट रनरअप भइसक्दा प्रीतमको गायकीले उचाइ प्राप्त गर्न थालिसकेको थियो । फुटकर कार्यक्रममा निरन्तर गाउने प्रीतमलाई सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले थप हौसला दिने गरेको बुबा सम्झिन्छन् ।
उनले पूर्वाञ्चल सङ्गीत विद्यालयबाट २०७१ सालदेखि सङ्गीत शिक्षा लिन थालेका हुन् । बलराम समाल, भुपेन्द्र राई, भोला राईलगायत सङ्गीत क्षेत्रका अग्रज उनका गुरु रहेका छन् ।

प्रीतमको सङ्गीतयात्रा अभियानलाई साथ दिएका राजु केसीले उनलाई विशिष्ट प्रतिभाको धनी भनेका छन् । ‘भाइको ब्रेनमै सङ्गीत छ’, केसीले भने, ‘उसको मिहिनेत र असल सङ्गीतकर्मीको गाइडलाइन भएको खण्डमा यो प्रतिभा विलक्षणको भएर निस्कन्छ ।’
सिर्जनागत विधामा सङ्गीतले ज्ञानसँगै विशिष्ट क्षमता राख्ने हुँदा प्रीतम गायक मात्र नभई अब्बल म्युजिकोलोजिस्ट पनि बन्ने उनको ठोकुवा छ ।
‘तीक्ष्ण स्मरण क्षमता, असाधारण गायकी, अथक मिहिनेत र अब्बल प्रस्तुतिका धनी प्रीतम नेपाली साङ्गीतिक आकाशको एक अग्लो नाम हुनेमा दुई मत छैन,’ केसीले भने ।

pritam aacharya pradeshportal (4)तस्बिरः गुरू ढकाल

अब देशको छोरोः बुबा
पहिलो पटक उनी साथमा बुबा काशीको साथमा दिल्ली गएका थिए । अहिले आमा राधिकालाई साथ लगाएर मुम्बई पठाएका काशीले सोचेका छन् छोरा विजेता बनेर देश फर्किने छ । र, अब ऊ आफ्नो मात्र नभएर सबैको भएको छ । उनलाई यो कुराको अनुभूति अहिले आइरहेका असङ्ख्य प्रतिक्रियाले दिन थालेको हो ।
विदेशी च्यानलमा आफ्नो छोरालाई देख्दा गर्व लागेको बताउँदै काशीले भने, ‘पहिले पो मेरो मात्र छोरो थियो, अब त ऊ देशकै छोरो भइसक्यो ।’