उदयपुरः उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन शुरु भएको छ ।

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । २ महिनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६÷७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केवलकार सञ्चालनको योजना शुरु हुने प्रमुख चौधरीले बताए ।

जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करिब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै ४ अर्ब रुपैयाँ लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । ३ अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले बताए ।

बाँकी १ अर्ब रुपैयाँमध्ये ५० करोड रुपैयाँ त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले ३ वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय बासिन्दाबाट लगानी गरेर ४ वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने त्रियुगा नगरपालिकाका प्रमुख चौधरी बताउँछन् ।
केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रदेश सांसद अम्बिका थापा र विमल कार्की बताउँछन् ।

रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २ सय जनासम्म भक्तजन पूजा गर्न जाने गरेका छन् । अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरी बताउँछिन् ।

समुद्री सतहबाट २ हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ ।

गाईघाट–बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश नं १, २ र ३ बाट ठूलो सङ्ख्यामा रौता क्षेत्रमा आउने पर्यटकको आगमनमा सहज हुने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।