धरानः धरान उपमहानगरपालिकाले धरान –४ स्थित देवीथानमा पानोरमिक भ्यु प्वाइन्ट बनाउने भएको छ ।

उपमहानगरपालिकाको पर्यटन विकास समितिले गरेको प्रस्तावबमोजिम उपमहानगरपालिकाले भ्यु प्वाइन्ट निर्माण गर्न लागेको हो । भ्यु प्वाइन्ट निर्माण गर्न उपमहानगरपालिकाको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।

भेडेटारसँगै जोडिएको देवीथानबाट धरानसहित इटहरी, सप्तकोशी, उदयपुर र धनकुटाका केही ठाउँ स्पस्ट देख्न सकिन्छ ।

‘हामीले निर्माण गर्न लागेको पानोरमिक भ्यु प्वाइन्ट प्रदेश नम्बर १ कै पहिलो हुने हाम्रो दाबी छ’, उपमहानगरपालिका पर्यटन विकास समितिका सह संयोजक किशोर थुलुङले भने, ‘कम लागतमा उत्कृष्ट प्वाइन्ट बनाउने हाम्रो प्रयास हो ।’ पानोरमिक भ्युमा बाइनाकुलर (दुर्बिन) पनि राख्ने योजना बनाएको उनले बताए ।

उनका अनुसार भ्यु प्वाइन्ट निर्माण गर्न उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा डेढ लाख रुपैयाँ छुट्टयाएको छ । सोही बराबरको जनसहभागिता पनि रहने छ । देवीथानका स्थानीय तथा धरान वडा नम्बर ४ का वडा सदस्य गोरसमान आलेमगर भ्यु पार्क बनाउनका लागि स्थानीय पनि सक्रिय भएको बताउँछन् ।

‘यहाँ पानारोमा भ्यु निर्माण हुने हो भने १ नम्बर प्रदेशकै नमुना हुन्छ,’ उनले भने, ‘यसका लागि स्थानीयको तर्फबाट गर्नुपर्ने काममा कमी हुँदैन ।’ धरान उपमहानगरपालिकाका प्राविधिक प्रभात तामाङले देवीथान पानोरमिक भ्युका लागि उपयुक्त ठाउँ भएको बताए ।

भेडेटारको मुख्य चोकबाट करिब १ हजार ४ सय मिटर पूर्वमा रहेको देवीथानबाट प्याराग्लाइडिङको पनि परीक्षण उडान भइसकेको छ । लोभलाग्दो दृश्यावलोकन र सधैं चिसो हुने उक्त ठाउँको धार्मिक महत्व पनि उत्तिकै छ ।

होमस्टे बन्दै
देवीथानलाई पर्यटकीय हिसाबले विकास गर्न स्थानीयले होमस्टे (घरबास) पनि शुरु गर्दैछन् । ‘दिउँसो जति सुन्दर दृश्य यहाँबाट देखिन्छ उत्तिकै लोभलाग्दो दृश्य राति पनि देखिन्छ’, स्थानीय शिक्षक रत्ना थापाले भनिन्, ‘धरान, तरहरा, इटहरी र आसपासको झिलिमिलीले लोभलाग्दो आनन्द दिन्छ ।’

अहिले होमस्टेका लागि स्थानीय लागिपरेको उनले बताइन् । धरान उपमहानगरपालिकाले पनि यसै वर्ष होमस्टे सञ्चालनका लागि तालीम दिने र व्यावसायिक रूपमा होमस्टे सञ्चालन भएका क्षेत्रहरूको अध्ययन भ्रमण गराउने योजना बनाएको छ ।