धनकुटाः उत्पादन बढाउन र रोग कीरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा विषादी प्रयोग बर्सेनी बढ्दो छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषादी निरुत्साहित गर्न पटकपटक आवाज उठ्ने गरे पनि विषादीको प्रयोग घट्न सकेको छैन ।

धनकुटाको शहीदभूमि गाउँपालिकाका किसान एमकुमार राई भने विगत ३ वर्षदेखि अर्गानिक खेती अभियानमा लागेका छन् । मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी प्रयोग चुनौतीपूर्ण बन्दै गएको अवस्थामा शहीदभूमि गाउँपालिका वडा नम्बर ३ का किसान राई अर्गानिक खेतीतर्फ लागेका हुन् ।

उनी आफूले लगाएको करिब २५ रोपनी जग्गाको कृषिजन्य उत्पादनमा न त विषादी प्रयोग गर्छन् न त रासायनिक मल नै प्रयोग गर्छन् । आफ्नो बारीमा उनले काउली, बन्दा, भिण्डी, काँक्रा, आलु, टमाटर लगाउने गरेका छन् ।

त्यस्तै, फलफुल अन्तर्गत कागती, सुन्तला अनारस अम्बा, एभोकाडो आदि लगाएका छन् । तर ती बालीमा उनी कुनै पनि विषादी प्रयोग गर्दैनन् । अन्य स्थानमा विषादीले गरेको असर देखेपछि तथा भारतले गरेको नाकाबन्दीको बेला रासायनिक मल र विषादीको अभाव भएकाले अर्गानिक खेती शुरु गरेको उनी बताउँछन् ।

‘विषादी र रासायनिक मल लगाउने बानी थियो । भारतले नाकाबन्दी ग¥यो न त विषादी नै पाइयो न त रासायनिक मल नै’, उनले भने, ‘त्यसैले विकल्पस्वरूप अर्गानिक खेती शुरु गरेको हुँ ।’

शहीदभूमि गाउँपालिकाका करिब ९० प्रतिशत परिवार कृषि पेशामा आबद्ध छन् । उनी सो गाउँपालिकाका एक्ला अर्गानिक किसान हुन् । अरु किसान विषादी र रासायनिक मल खोज्न बजार धाइरहँदा राई भने आफँै मल र विषादी बनाउन व्यस्त हुन्छन् ।

गाईवस्तुको मलसँगै बनमारा, असुरो, भोगटे आदिलाई कुहाएर उनले कम्पोष्ट मल बनाउने गरेका छन् । त्यस्तै असुरो, खुर्सानी, चिलाउनेको बोक्रा, प्याज लसुन सूर्ति आदिबाट विषादी बनाउने गरेका छन् ।

ट्रयाप विधि (लिसो) तथा बत्ती र पानीमा कीरा फसाउने विधि पनि उनले उपयोग गरेका छन् । उत्पादन अर्गानिकबाट केही कम हुने भए पनि माग र मूल्य भने बढी हुने गरेको राई बताउँछन् ।

कृषिजन्य उत्पादन बढाउन, रोग कीराको नियन्त्रण, समय अगावै उपयोगयोग्य बनाउन तथा धेरै समय टिकाउन धनकुटामा विषादीको प्रयोग बर्सेनी बढ्दै गएको छ । आर्थिक वर्ष ०६८÷०६९ मा १० दशमलव १ मेट्रिकटन मात्र प्रयोग हुने गरेको विषादी हाल करिब २० मेट्रिकटन पुगेको छ । धनकुटामा ६० प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको छ ।