झापाः नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ ।

समुद्र सतहबाट ७० मिटरको उचाइमा रहेको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल । राजवंशीले ‘झिल’लाई केचना भन्छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउँछन् ।

उनका अनुसार २०४४ सालमा राजा वीरेन्द्र हेलिकप्टर लिएर यहाँ आउँदा सिमेन्टको एउटा स्तम्भ अनावरण भएको थियो । त्यही स्तम्भ नै आज सबैभन्दा होचो ठाउँको चिह्न भएको छ ।

भद्रपुर एयरपोर्टबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान सडक र यातायातको सुविधा भनेजस्तो सहज भने छैन । सडकको मात्र असुविधा होइन केचनकवलमै होटल र लजको राम्रो प्रबन्धसमेत हुन सकेको छैन । स्तम्भ जीर्ण भइसकेको स्थानीय बताउँछन् । अध्यक्ष आलम स्तम्भ मर्मतका लागि गाउँपालिकाबाट १४ लाख रुपैयाँ विनियोजन गरेको बताउँछन् ।

भ्यु टावर बनाउने गुरुयोजना
केचनकवल स्तम्भको छेउमा उभिएर सगरमाथा र कञ्चनजङ्गा हिमाल छर्लङ्गै देख्न सकिने हुँदा यहाँ भ्यु टावर बनाउने गुरुयोजना रहेको आलम बताउँछन् । त्यस्तै, सडक ग्राभेल गर्नका लागि गाउँपालिकाले रु ५५ लाख रुपैयाँ बजेट छुट्याएको उनले बताए ।

५ वर्षभित्रमा भद्रपुर विमानस्थलबाट केचनकवलसम्म पुग्नका लागि कालोपत्रे बाटो निर्माण गर्नुका साथै होटल, घुमफिरस्थल र सुरक्षाको आकर्षक प्रबन्ध गरिसक्ने आलम बताउँछन् । रिङरोडको निर्माण र होमस्टेको समेत व्यवस्था गर्ने सोच बनाएको पनि उनले बताए ।

Kechana kalan