इलामः नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् ।
इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौबारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना गरेपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ खरीदका लागि सहज भएको हो ।
वि.सं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म जम्मा १४ वर्ष सो केन्द्र सञ्चालनमा आएको थियो । सो केन्द्र बन्द भएको ३६ वर्षपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गरेको कृषि नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जी र बङ्गुरपालनसम्बन्धी अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थाको ८ हजार ८ सय २५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्क स्थापनापछि आलुको बीउ उत्पादन गरी सरल मूल्यमा बिक्री गर्ने काम गरेको कार्यालयका प्रमुख तथा वरिष्ठ बालीविज्ञ राम कटुवालले बताए ।
२ हजार ८ सय ३५ मिटर उचाइमा अनुसन्धान केन्द्र स्थापनापछि इलाम, पाँचथर र ताप्लेजुङका किसानले सहज रूपमा गुणस्तरीय आलुको बीउ पाएका छन् । केन्द्र स्थापनापछि आलुको बीउको माग उच्च भएको वरिष्ठ बाली विकास अधिकृत कटुवालको भनाइ छ । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरी आलुको परीक्षण र बीउ उत्पादन मात्रै भएको थियो ।
केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीको अनुसन्धान तथा प्रमाणीकरण गरिरहेको प्रमुख कटुवालले बताए । राम्रो देखिएका आलुका जात, कृषि उपज जाँच गरिँदा किसानलाई सहयोग पुगेको सन्दकपुर गाउँपालिकाका किसान उमेश गुरुङले बताए ।
किसानहरूको समूहमार्फत् धान, गहुँ र मकैको बीउ उत्पादनको काम गर्दै आएको अनुसन्धान केन्द्रले पाख्रीबास कालो बङ्गुरलाई प्रवद्र्धन गर्न सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकामा प्रजनन केन्द्र स्थापना गरेको छ । जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योति, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीउ उत्पादन हुने केन्द्रमा अत्यधिक माग भएपछि किसानलाई भनेअनुसारको आपूर्ति गर्न नसकेको कटुवालले बताए ।
भारत र भुटानबाट आलुको बीउ आयात हुने गरेको भए पनि केन्द्र स्थापना भएपछि किसानले बाह्य आलुको बीउको प्रयोग गर्न छाडेका छन् । सदरमुकामदेखि उत्तरको जौबारीमा यातायातका साधन चल्ने गरी सडकको स्तरोन्नति नभए पनि किसान आफैँ बीउ लिन जाने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रमा अहिले ७ प्रजातिको आलुको बीउ उत्पादन हुने गरेको छ । बाह्य अनुसन्धान केन्द्र नयाँबजारबाट धान, गहुँ, घाँसलगायतका कृषिउपजको अनुसन्धान गरिँदै आएको छ ।
केन्द्रले उत्पादन गरेको एक मन आलुको बीउबाट औसतमा १६ मनसम्म आलु उत्पादन हुने गरेको छ । केन्द्रमा उत्पादन भएको बीउ मध्य पहाडी क्षेत्रको समुद्री सतहको एक हजार २ सय मिटरदेखि ४ हजार मिटरसम्मको उचाइमा खेती हुने गरेको छ । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रूपमा विकास गर्नका लागि नार्कको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको केन्द्र प्रमुख कटुवाल बताउँछन् ।