धरानः धरानमा तीन तारे होटलको सुविधा दिने गरी नयाँ होटल खुलेको छ । ८ करोड ४५ लाख रुपैयाँको लागतमा धरानको भोटेपुलमा होटल गजुर प्यालेस खुलेको हो ।
औपचारिक उद्घाटन माघ २५ गते हुने सञ्चालक समितिका अध्यक्ष गोपाल आचार्यले बताए । उनका अनुसार होटल तीन तारे (थ्री स्टार) स्तरको बनाइएको छ । कोठा सङ्ख्या कम भएका कारण स्टार होटल बनाउन नसकिएको उनले बताए ।
२ सय जनासम्मका लागि सेमिनार हल, ४ सय पाहुनाका लागि खानपान गर्न सकिने होटलमा ४५ सिटे रेष्टुरेण्ट रहेको छ । उनका अनुसार २ दशकभन्दा बढी काम गरिसकेका अनुभवी सेफ रहेको होटलले २४ घण्टे सेवा दिनेछ । इन्डियन, चाइनिज, नेपाली, कन्टिनेन्टलका खाना, इन्टरनेशनल ल्याब, भिआइपीका लागि विशेष व्यवस्था, ५० वटासम्म मोटरसाइकल र १५ वटासम्म साना सावरी पार्किङको सुविधा रहेको उनले बताए ।
कोठा थपेर थ्री स्टार नै बनाउने योजना रहेको उनले सुनाए । उनले ट्राभल्स एण्ड टुर्सको प्याकेज बिक्री गर्ने योजना समेत रहेको सुनाए । भेडेटार, ताप्लेजुङलगायतका ठाउँमा प्याकेज बनाइरहेको बताउँदै उनले अनलाइन बुकिङ गर्न सकिने पनि बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले धरानमा राम्रो होटलको अभाव रहेको समयमा खुलेको यो होटलले वास बस्न धरानबाहिर जाने पाहुनाको सङ्ख्या कम हुने बताए ।
होटलकी कार्यकारी अधिकृत रञ्जना झाले होटलले होटलको अभावलाई पूर्ति गर्ने बताइन् ।