झापाः प्रदेश नम्बर १ को सर्वाधिक राजस्व असुली गर्ने मेची भन्सार कार्यालय काँकरभिट््टाले चालु आर्थिक वर्ष २०७५÷२०७६ को पहिलो ६ महिनामा ५ अर्ब २८ करोड ५३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८ करोड ८ लाख ९२ हजार रुपैयाँ अर्थात् २३ प्रतिशतले वृद्धि भएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।
प्रमुख भन्सार अधिकृत अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ अर्ब ३० करोड ४४ लाख ३६ हजार रुपैयाँ असुली गरेको थियो । गत आर्थिक वर्षमा भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई ९ अर्ब २० करोड ९१ लाख रुपैयाँ लक्ष्य तोकेको भएपनि लक्ष्यको तुलनामा ११ प्रतिशतले राजस्व वृद्धि भएको थियो । सो वर्ष १० अर्ब १८ करोड २७ लाख अर्थात् १ सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको अर्यालले जानकारी दिए ।
तर चालु आर्थिक वर्ष २०७५÷२०७६ को ६ महिनामा ५ अर्ब ९० करोड ६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य कार्यालयको भए पनि ५ अर्ब २८ करोड ५३ लाख रुपैयाँ अर्थात् ८८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
भन्सार अधिकारीका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्र कार्यालयले लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । बाँकी कुनै पनि महिनामा लक्ष्य भेट्टाउन सकेको छैन । असोज महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि ९४ करोड ५४ लाख ६८ हजार ७ रुपैयाँ अर्थात् १ सय ५ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत अर्यालको भनाइ छ ।
पछिल्लो समय राजस्व नपुग्नुको मुख्य कारण राजस्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयात कम हुनु भएको अर्यालले बताए । कुल राजस्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । त्यसपछि कोइलाले राजस्व धानेको छ । बर्खासँगै मुख्य वस्तुको आयात ओरालो लागेपछि कार्यालयले लक्ष्य पूरा गर्न नसकेको भन्सार अधिकारीको भनाइ छ । बङ्गलालेशबाट आयातीत पेयपदार्थ, खाद्य वस्तुलगायतले कुल राजस्वको ४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारी बताउँछन् ।
साउन महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भए पनि कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशत अर्थात् ७५ करोड ९५ लाख ८८ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकारीका अनुसार सङ्कलित रकम गत वर्षको सोही अवधिको तुलनामा १९ करोड ८९ लाख १० हजार ६८ रुपैयाँ अर्थात् ३५ प्रतिशतले बढी हो ।
यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट आउने गरेका छन् ।
मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचना, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपरलगायतका वस्तु नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।