इटहरी/ वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणामा अघि बढेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन् ।

अन्य क्षेत्रमा जस्तै पर्यटनको क्षेत्रमा पनि विभिन्न काम गर्ने गरी बजेट विनियोजन गरिएको खतिवडाले जनाएका छन् ।

पर्यटन क्षेत्रको विकासमा ५ अर्ब
खतिवडाले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ पर्यटन क्षेत्रको विकासको लागि छुट्याएका छन् । पर्यटनबाट रोजगारी र आय आर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन र सेवा सुविधाको बिस्तार गरिने उनले बताएका छन् । ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरी आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने अभियान चलाइने बताइएको छ ।

14

पहिले देश अनि विदेश
आन्तरिक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरी आन्तरिक पर्यटक बढाउन ‘पहिले देश अनि विदेश’को अभियान चलाउने सरकारको तयारी छ । प्रदेश र स्थानीय तहसँगको साझेदारीमा देशका कम्तीमा १ सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी प्रवद्र्धन गर्न कदम चाल्ने उनले बताए । केही मौसममा मात्रै सीमित रहेको हालको पर्यटनलाई वर्षैभर चलायमान बनाउन र गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विविधिकरण गरिने बताइएको छ । त्यसको लागि भारत र चीनलक्षित पर्यटक प्रवद्र्धन कार्यक्रमलाई नेपाल पर्यटन बोर्डमार्फत् विशेष रूपमा अघि बढाइने उनको भनाइ छ ।

प्रतिष्ठानलाई विश्वविद्यालयको रूपमा विकास गरिने
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिने बजेटमा उल्लेख छ । त्यसको लागि पर्यटन क्षेत्रको सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटलाइट लेखा प्रणालीमा आबद्ध गरिने भएको छ । पर्वतारोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दाे व्यवस्था गरिनुका साथै नेपाली पर्यटनको प्रचार र बजारीकरण गर्न विदेशस्थित नियोगलाई परिचालन गरिने भएको छ ।

नेपाललाई माइस टुरिजम केन्द्रको रूपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने भएको छ । स्तरीय होटल तथा रिसोर्ट लगायतका पर्यटकीय सेवाको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्ने भएको छ ।

15

हवाइ क्षेत्रमा १९ अर्ब ३५ करोड
पर्यटनको लागि आवश्यक पर्ने हवाइ क्षेत्रको सुधार र बिस्तारका लागि १९ अर्ब ३५ करोड विनियोजन गरिएको छ । नेपालको हवाइ उड्ययन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिने, निजगढ र लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल बनाइने तथा विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नति गरिने तथा काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ ।