धरानः विवाहित महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको ‘मिसेस स्टेट १’ को दोस्रो संस्करणको ताज धरानकी पुष्पकला फोम्बोले हात पारेकी छिन् । शुक्रबार राती धरान–८ स्थित सभागृहमा सम्पन्न अन्तिम प्रतिष्पर्धामा १५ प्रतिष्पर्धीलाई उछिन्दै फोम्बोले ताज हात पारेकी हुन् । प्रतियोगिता वमन वर्थ ग्रुपले आयोजना गरेको थियो ।

विजेताले १ लाख नगद र ताज पाएकी छिन् । उनी यो प्रतियोगिताको फोटोजेनिक विजेता पनि हुन् । उनलाई पहिलो संस्करणकी विजेता सम्झना घतानीले ताज लगाइदिएकी थिइन् ।

मिस नेपाल २०१३ की इशानी श्रेष्ठले ‘तपाई एक विवाहित नारी भएर नेपाली समाजमा के परिवर्तन ल्याउन सक्नुहुन्छ जुन अविवाहित नारीले गर्न सक्नुहुन्न ? भन्ने प्रश्नको जवाफमा उनले दिएको जवाफले नै उनलाई ताज पहिर्यायो ।

त्यसैगरी, फष्ट रनरअप इटहरीकी ज्योति झा, सेकेण्ड रनरअप धरानकी रोशनी राई बनिन् । उनीहरूले नगद ५० हजार र २५ हजार रुपैयाँसहित क्राउन हात पारेका छन् । । झाले बेष्ट ड्रेस र ब्युटीफुलको टाइटल पनि जितिन् भने राईले बेष्ट हस्पिटालिटीको टाइटल जितेकी थिइन् ।

प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, मुख्य निर्णायक मिस नेपाल २०१३ की इशानी श्रेष्ठ, आयोजक वुमन वर्ड ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्राकारलगायतले नगद, ट्रफी तथा गिफ्ट प्रदान गरेका थिए ।