इटहरीः सर नमस्कार !
के सेवा गरौं ?
कपाल मात्र कि दारी पनि काट्नुहुन्छ ?
कतिको छोटो काट्नुहुन्छ ?
सर, कलर पनि गराँै ? फेसियल वा अन्य केही गर्नुहुन्छ ?
प्रायः यस्तैयस्तै प्रश्न गर्छिन् अम्बिका ।
इटहरीको पश्चिम लाइनमा रहेको चाइना मार्केटभित्रको ‘रेड कार्पेट’ सैलुनकी एक कर्मचारी हुन् अम्बिका तामाङ । उनको दैनिकीको शुरुवात र अन्त्य नमस्कारबाटै हुन्छ ।

कतिपय ग्राहक पुरानै प्रकारको सैलुन भनेर छिर्छन् अनि केही बेर सङ्कोच पनि मान्छन् । कारण कुनै महिलाले पुरुषको कपाल काटिरहेको दृश्य उनीहरूलाई अनौठो लाग्छ । कहिलेकाहीँ त महिलामात्रै पनि हुन्छन् । कतै ब्युटीपार्लरतिर पो आएँ कि ! भन्दै कतिपय मानिस झसङ्ग हुन्छन् । तर खासमा रेड कार्पेट युनिसेक्स अर्थात महिला र पुरुष दुवैलाई सुन्दर बनाउने उपयुक्त गन्तव्य हो ।
धेरैले त तपाईंले नै हो कपाल काट्ने भनेर उनलाई प्रतिप्रश्न पनि गर्छन् ।

प्रायः पुरुष र त्यसमाथि पनि भारतीय मूलका नागरिकको बोलवाला रहेको सैलुन व्यवसायमा महिलाको उपस्थिति नगण्य मात्रामा छ । त्यसैमध्येकी एक पात्र हुन् उनी । प्रवीणता प्रमाणपत्र पनि पार नगरेकी उनको कामप्रतिको लगनशीलता भने स्नातकोत्तरबराबरको छ ।
अम्बिकाले केही महिना अगाडि इटहरीकै एक पार्लरमा आधारभूत तालीम लिएकी थिइन् । पछि धरानको रेड कार्पेटमै ३ महिना तालीम लिएर उनी पोख्त भएकी हुन् । तर अझै काममा निखारिने उनको योजना छ ।

०७४ असारमा धरानमा शुरु भएको रेड कार्पेट इटहरीमा भने ०७५ मङ्सिरबाट शुरु भएको हो । इटहरीमा सुरुदेखखि नै अम्बिकाले काम गरिरहेकी छिन् । त्यतिमात्रै होइन उनी अरुलाई सिकाउने सक्ने पनि भएकी छिन् । अहिले उनीसँग सिक्न आउने मात्र ५ जना छन् । त्यसमध्ये पनि ३ जना महिला नै छन् ।
पार्लर सिक्ने र आफैँ खोल्ने सोच रहेको उनले सुनाइन् । तर अझै धेरै सिक्न बाँकी रहेकाले काम गर्दै सिक्न लागिपरेको अम्बिका बताउँछिन् । अझै केही समय थप सीप सिकेर मात्र आफ्नो पसल खोल्ने सोचमा रहेको उनको भनाइ छ ।

red carpet  (2) copy 1

शुरुमा सेवाग्राही आएर आश्चर्य मान्दा नर्भस भए पनि अहिले वास्ता लाग्न छाडेको उनको अनुभव छ । सेवाग्राहीले बाहिर कहीँ यस्तो नदेखेको हुनाले तपाईंलाई देख्दा आश्चर्य लाग्यो भन्ने गरेको उनले सुनाइन् । ‘तर कपाल काटिसकेपछि उहाँहरू नै आहा कति राम्रो कपाल काट्नु हुँदो र’छ भन्छन्’, उनले सुनाइन् ।
ग्राहक रेड कार्पेट नै किन आउने भन्ने प्रश्नमा उनी भन्छिन्, ‘तपाईँ विवाह वा पार्टीमा जाँदै हुनुहुन्छ भने कपाल काटेर सिधै हिँड्न सक्नुहुन्छ । अर्थात् कपाल काटिसकेपछि नुहाएरमात्रै पठाइन्छ । अरु पार्लरमा भन्दा सस्तो र सुविधाजनक रूपमा सेवा दिइन्छ ।’

नजिकै उभिइरहेका उनका सहकर्मी प्रेम अधिकारी उनको भनाइ पूरा गर्ने कोशिस गर्छन् । उनी भन्छन्, ‘सेवाग्राहीलाई पूर्ण रूपमा सन्तुष्ट बनाएर पठाउँछौ । महिला र पुरुष दुवैको लागि महिला र पुरुष दुवैले सेवा दिने ठाउँ हो रेड कार्पेट ।’
सेवाग्राहीमात्र होइन उनीसँग सिक्न आएका अरु महिला पनि सन्तुष्ट छन् । विगत १५ दिनदेखि सिक्दै आएकी सृष्टि सिवाकोटी, अस्मिता कार्की र यशोदा खवास अरुतिर भन्दा धेरै राम्रो गरी सिक्न पाएको बताउँछन् ।

‘अन्य पार्लरमा एकैपटक कैँची चलाउन लगाउँछन् भने यहाँ धेरै स्टेप सिकाइसकेपछि मात्र हात चलाउन सिकाउनुहुन्छ,’ यशोदा भन्छिन्, ‘महिलाको मात्र नभएर पुरुषको पनि पार्लर सिकिने भएकाले धेरै सहज भएको छ ।’

सृष्टि पनि हातमा सीप भएपछि आफैँ आत्मनिर्भर हुन सकिने बताउँछिन् । त्यसैले औपचारिक अध्ययनमा भन्दा सीप सिक्न ध्यान दिएको उनको भनाइ छ । जीवनभर अरुमा निर्भर हुनुभन्दा बेलैमा सीप सिकेर आत्मनिर्भर हुनु राम्रो भएको उनको तर्क छ । हातमा सीप भएपछि त्यसै अनुसारको रोजगारी पाइने अथवा आफँै व्यवसाय गर्न सकिने उनको विश्वास छ ।
अस्मिता पनि सृष्टिको तर्कमा सहमत छिन् । भन्छिन्, ‘हामी पनि सक्षम छौँ भनेर देखाउनु छ । केही गर्न सक्छाँै भनेर प्रमाणित गर्नु छ ।’