झापाः सनराइज् बैंक लिमिटेड शाखा काँकरभिट्टाले १२ औं पटक स्वास्थ्य बीमा योजनाअन्तर्गत बैंकका ग्राहकलाई स्वास्थ्य बीमा रकम हस्तान्तरण गरेको छ ।
बुधबार शाखा कार्यालय काँकरभिट्टामा आयोजित कार्यक्रममा बैंकका बचतकर्ता मेचीनगर—१० धुलाबारीका इन्द्रबहादुर बुढाथोकीलाई बीमा रकम हस्तान्तरण गरेको हो । शाखा प्रबन्धक कुमार खड्काले बुढाथोकीलाई १ लाख रुपैयाँको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा शाखा प्रबन्धक खड्काले स्वास्थ्य बीमा सुविधा बचतकर्ताले खाता खोलेको दिनदेखि लागू हुने गरी बढीमा १ लाख वा औसत कारोबारको २५ प्रतिशत वा उपचारबापतको बिलअनुसारको रकम जुन कम हुन्छ त्यही रकम प्राप्त गर्न सक्ने जानकारी दिए । यो सुविधा वर्षमा ३ पटकसम्म लिन सकिने र सुविधा लिनका लागि १५ दिनभित्र उपचार बापतको सबै बिल बैंकका १०४ वटा शाखामध्ये कुनै पनि शाखामा पेश गर्नुपर्ने हुन्छ ।
१ सय ५० वटा विभिन्न उपचारका लागि हुने शल्यक्रियाका लागि अस्पताल भर्ना नभए पनि यो सुविधा पाउने व्यवस्था रहेको खड्काले जानकारी दिए । तर, यो सुविधा लिनका लागि नेपालभरका सरकारी अस्पताल तथा बैंकसँग अनुबन्धित नेपाल तथा भारतका निजी अस्पतालबाट उपचार गराउनुपर्ने पनि उनले प्रष्ट पारे ।