धरान: अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अर्गानिक अभियनमा लागेकी महिला अभियन्ताले अर्गानिक खाद्यान्न पसल सञ्चालनमा ल्याएकी छिन् ।
धरान– १८ स्थित बुद्ध चोकमा अर्गानिक अभियन्ता तथा महिला सञ्जालकी अध्यक्ष सबिता राईले हयापी ग्रीन मार्ट पसल सञ्चालनमा ल्याएकी हुन् । सो मार्टको शनिबार एक कार्यक्रमका बीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव शर्माले उद्घाटन गरे ।
मार्टकी सञ्चालक राईसहितको टिमले विगत १ वर्षअघिदेखि प्रत्येक शनिबार धरान– १२ स्थित कृषि अमान बजारमा अर्गानिक हटिया लगाउँदै आएको छ । धरान र आसपासमा अर्गानिक खेती गरिरहेका किसानले उक्त बजारमा आफ्ना उत्पादन बेच्न ल्याउँछन् ।

सोही अभियानलाई थप बिस्तार गर्दै राईले अर्गानिक उत्पादनको खाद्यान्न पसल नै खोलेकी हुन् । राईले करिब ४ लाख रुपैयाँको लगानीमा पसल सञ्चालनमा ल्याएको बताइन् । अर्गानिक उत्पादनको बजार सञ्चालन हुँदा कृषकलाई उत्पादनमा प्रोत्साहन मिल्ने राईले बताइन् ।

डा. शर्माले अहिले मानिसमा रासायनिक मल साथै विषादीयुक्त खानेकुराले जीवनशैली अस्वस्थ बन्दै गएको अवस्थामा अर्गानिक पसल सञ्चालन गरिनु उत्तम रहेको प्रतिक्रिया दिए । उनले भने, ‘रासायनिक मल प्रयोग गरेर उत्पादन भएका कृषिजन्य खाद्यान्नकै कारण बिरामी परिरहेका छौं, धरानवासीलाई अस्वस्थकर खानबाट बच्न अझै अर्गानिक पसलहरू सञ्चालन गरिनुपर्छ ।’

पसलमा मकैको चामल (सेतो र पहेंलो), कोदोको पिठो, फापरको पीठो, दाल, भोजपुरको लोकल चामल, गाउँको लोकल चामल (अट्टे, मार्सी, मसिनो धानको चामल), मस्यौरा, गुन्द्रुक, सिन्की, याङवेन, बेसार, सुकुटीको अचार, फिलुङ्गे, किनीमा, चिया, अलैंची लगायतका दर्जनौं आइटमका खाद्यान्न सामग्री छन् ।

भोजपुर, पाँचथर, इलाम, ताप्लेजुङ, सङ्खुवासभालगायतका क्षेत्रमा उत्पादन भएका अर्गानिक खाद्यान्न पाइने सञ्चालक राईले बताइन् । उनले पसलमै ग्रीन टी पिउने व्यवस्था पनि गरिएको बताइन् ।