झापाः झापाको हल्दीबारी गाउँपालिका–४ जलथलले स्थानीय अगुवा किसानहरूलाई तरकारी तथा पशुपालनका लागि अनुदान रकम वितरण गरेको छ । ‘हल्दीबारीको दृष्टि कृषि र पर्यटनमार्फत् समृद्धि’ भन्ने कार्यक्रम सार्थक बनाउन अनुदान कार्यक्रम अघि सारिएको बताइएको छ ।
वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी च्याउ खेती, तरकारी खेती र बाख्रापालक किसानहरूलाई अनुदान रकम वितरण गरिएको हो । सोही कार्यक्रममा स्थानीय ५ जना स्वयम्सेवीलाई १–१ थान साइकलसमेत प्रदान गरिएको छ ।
च्याउ खेती गर्ने, तरकारी खेती गर्ने र बाख्रापालन गर्ने किसानहरूलाई वडाध्यक्ष होमप्रसाद चुडाल र कार्यपालिका सदस्य गीता भण्डारी तिम्सिनाले अनुदान प्रदान गरेका थिए । त्यस्तै, वडा सदस्य महेश मेचे, पवित्रा सेन्चुरी, केदारप्रसाद उप्रेतीलगायतले अनुदान रकमको चेक हस्तान्तरण गर्नुका साथै स्वयंसेविकाहरूलाई साइकलको चाबी प्रदान गरेका थिए ।
वडा कार्यालयले तरकारी खेती गर्ने अगुवा किसानलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरेर अनुदान रकम वितरण गरेको थियो । जसअन्तर्गत ए ग्रेडका किसानलाई जनही १८ हजार, बी ग्रेडका किसानलाई जनही १२ हजार र सी ग्रेडका किसानलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले अनुदान रकम वितरण गरिएको हो ।
त्यस्तै, च्याउ खेतीतर्फ बासमती किसान समूह, चन्द्रबहादुर तामाङ र सीता नेउपानेलाई २५–२५ हजार तथा विष्णुप्रसाद ढकाल र रुद्र मैनालीलाई संयुक्त रूपमा २५ हजार रुपैयाँको चेक प्रदान गरिएको थियो ।
त्यस्तै, बाख्रापालनतर्फ सुनिल मेचे, श्रीप्रसाद मैनाली र जीतबहादुर राजवंशीलाई क्रमशः ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । तरकारी खेतीका लागि विजय लावती, कुमार खतिवडा, इन्द्र खरेल, धनकुमारी चापागाईं, कुलबहादुर आचार्य, चन्द्रबहादुर तामाङ र शुक्रचन मेचेलाई अनुदानको चेक प्रदान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष चुडालले गाउँपालिकाको दोस्रो गाउँसभाबाट पारित गरी मापदण्ड पु¥याएर किसानहरूलाई अनुदान रकम वितरण गरिएको बताए । अनुदान वितरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वडासदस्य महेश मेचेले गाउँसभाले वडा कार्यालयलाई तोकेको ४० लाख रुपैयाँको सिलिङभित्र रहेर शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र अन्य क्षेत्रमा लगानी गरेको जानकारी दिए ।
अनुदान रकम वितरणले किसानहरू आत्मनिर्भर बन्न सफल हुनेछन् भन्ने कार्यक्रमको लक्ष्य रहेको पनि वडा सदस्य मेचेले बताए ।
वडाध्यक्ष होम चुडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरू महेश मेचे, पवित्रा सेन्चुरी, सदस्य गीता भण्डारी तिम्सिना र सदस्य केदारप्रसाद उप्रेतीलगायतले आफ्ना धारणा राखेका थिए । महिला स्वयम्सेविका कमला भट्टराई, च्याउ किसान सीता न्यौपाने, तरकारी किसान श्यामलाल मेचे, बाख्रापालक किसान सुनिल मेचे, सहायक कर्मचारी जयप्रसाद दाहाललगायतले अनुदान कार्यक्रम सह्रानीय रहेको बताए ।
यता, झापाको भद्रपुर नगरपालिकाले वडा नं ६ का विपन्न १० परिवारलाई आय आर्जनका लागि उन्नत जातका बाख्रा निःशुल्क प्रदान गरेको छ । नगरपालिकाको पशु सेवा शाखाको वार्षिक कार्यक्रमअन्तर्गत ६ नं वडा कार्यालयको संयोजनमा एक परिवारलाई एक माउ र एक पाठा प्रदान गरिएको वडा सदस्य प्रकाश शर्माले जानकारी दिए ।
वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडाध्यक्ष प्रेमबहादुर बरुवाल, पशु सेवा शाखा प्रमुख गणेश भट्टराईलगायतले बाख्रा हस्तान्तरण गरेका थिए । यसैगरी, एउटा बोयर जातको बोका पनि प्रदान गरिएको पशु सेवा शाखा प्रमुख भट्टराईले जानकारी दिएका छन् ।