, इटहरी ः झट्ट हेर्दा सामान्य मानिसजस्तो लाग्ने इटहरीका भीमबहादुर पौडेल पूर्व क्षेत्रमा स्थापित उद्योगी÷व्यवसायीको नाम हो । ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिइरहेका सरल स्वभावका उनी कसैलाई ढाँट्ने, छल्ने र आश्वासन मात्र बाँड्ने व्यक्तिभित्र पर्दैनन् ।

सामाजिक काम र विकासमा तन, मन र धन लगाएर सधैँ लागि पर्ने उनि आउँदो असार १४ गते हुन गइरहेको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष पदका दर्बिला उम्मेद्वार हुन् । लगातार इटहरी उद्योग वाणिज्य सङ्घमा राम्रो मत पाएर सदस्य पदमा विजयी हासिल गरिरहेका उनले आफ्नो क्षमताले भ्याएसम्म मनदेखि नै उद्योगी व्यवसायीको हितमा काम गर्ने अवसर अहिलेसम्म पाएकै छैनन् ।

उनी भन्छन्, ‘मेरो केही व्यवसाय इटहरीसँगै जोडिएका मोरङका केही नगरपालिकामा भए पनि इटहरी क्षेत्रका उद्योगी व्यवसायीको वास्तविक पीरमर्का मलाई राम्रोसँग थाहा छ । मेरो अध्यक्ष पदमा दिइएको उम्मेद्वारी मतका लागि आश्वासन बाँड्ने मात्रै होइन, समस्यामा परेका उद्योगी व्यवसायीहरूको हितका काम गर्नकै लागि हो ।’

उनले वर्तमान कार्यसमितिमा रहेका सहकर्मी उद्योगी व्यवसायीहरूले गरिरहेको कामप्रति कुनै टीकाटिप्पणी नगर्ने बताए । उनले भने, ‘३ वर्षअघि निर्वाचनताका बाँडिएका आश्वासन के कति पूरा भए, त्यसको सही मूल्याङ्कन गरी असार १४ गतेको निर्वाचनमा मतदाता उद्योगी व्यवसायीहरूले मत खसाल्नेछन् भन्नेमा म विश्वस्त छु ।’

निर्वाचनका बेलामा केके न गर्छु भन्ने र विजयी भएपछि हल्लाखल्ला बाहेक माखो मार्न नसक्ने उद्योगी व्यवसायीहरूको नेता बन्ने रहर आफूमा फिटिक्कै नभएको पौडेलले बताए । उनी भन्छन्, ‘म थोरै बोल्छु । तर बोलेको कुरा पूरा गर्छु । झुटा कुरा गरेर म मतदाताहरूको अमूल्य मतको अवमूल्यन कुनै पनि हालतमा गर्दिनँ । यो कुरा सबैले लेखेरै राखे पनि फरक पर्दैन ।’

इटहरी क्षेत्रका उद्योगी व्यवसायीका सरल र जटिल गरी दुई खालका समस्या छन् । ती समस्या हल गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र स्वयम् उद्योगी व्यवसायीहरूसँग बसेर नियम कानुन, नीति बनाएर आफू लाग्ने उनले बताए । उनले भने, ‘यसपटक मलाई विजयी गराउनुहुनेछ भन्ने मलाई लागेको छ । यदि पराजय भएँ भने पनि निर्वाचनताका गरेका प्रतिबद्धता अनिवार्य पूरा गर्नेछु ।’

बर्सेनी अवैज्ञानिक तरिकाले बढिरहेको घरभाडा, व्यवसायी आफैँले तिर्नुपर्ने घरबहाल कर, व्यावसायिक सुरक्षा, बैंकहरूको आफूखुशीको ब्याजदर वृद्धि, कर कार्यालयको अनावश्यक तनावलगायतका विषयमा सरोकारवालासँग बसेर हल गर्न सक्ने क्षमता आफूमा रहेको पौडेलको दाबी छ ।
उनले भने, ‘म त धनकुटामा ट्रकको सहचालक काम गर्दै सङ्घर्षपूर्ण तरिकाले यहाँसम्म आइपुगेको व्यक्ति हुँ । इटहरी क्षेत्रका सना ठूला उद्योगी व्यवसायीको वास्तविक समस्या राम्रोसँग बुझेको छु । र, सबैसँग मिलेकै छु । अहिलेसम्म कहीँ कतै कसैको चित्त दुखाउने काम गरेको छैन भन्ने लाग्छ ।’

उनकोमा पुग्ने धार्मिक हुन् या सामाजिक या युवाको सङ्गठन होस् या त राजनीतिक दल हुन् । सबैलाई उनले आजसम्म खाली हात फर्काएका छैनन् । सामाजिक कार्य या विकासका कार्यमा उनले जहिले पनि पार्टीभन्दा माथि उठेर हातेमालो गरेका छन् । उनले भने, ‘जसले जे जस्तो टिप्पणी गरे पनि म उद्योग वाणिज्य सङ्घ इटहरीलाई विशुद्ध उद्योगी व्यवसायीको सङ्गठन बनाउन चाहन्छु । त्यसका लागि आउने दिनमा छिमेकी शहर विराटनगर र धरानबाट केही कुरा सिकेर अगाडि बढ्ने योजना छ मेरो ।’

निर्वाचनकै सिलसिलामा इटहरी बजार घुम्दा उद्योगी व्यवसायीहरूबाटै धेरै गुनासाहरू आएको उनले बताए । ती गुनासाहरूलाई सुन्ने काम मात्रै गर्ने र के कसरी हुन्छ सम्बोधन गर्ने प्रयासमा रहेको उनले बताए ।
‘म इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरूको समस्या हल गर्नका लागि सबै दृष्टिबाट तयार भएको छु,’ पौडेलले भने, ‘त्यतिमात्रै होइन, आफूसँग भएका साधन र स्रोतहरूलाई अधिकतम प्रयोग गरी स्थानीय सरकारसँग सहकार्य गरी इटहरी क्षेत्रको विकास गर्न पनि आफू लागि पर्नेछु ।’