दुखें आज साँच्चै पुराना कुराले
रहर रोज्न थाले फुटेका चुराले

नआए हुनेथ्यो कुनै चाडपर्व
बुबा खोज्न थाले कठै यी भुराले

थिएँ पूर्ण मान्छे थियौ साथ प्यारा
म टुक्रा छु टुक्रा कुराका छुराले

दुवै थ्यौं र हुन्थ्यो हलुङ्गो गृहस्थी
कसोरी उचालूँ म यी पाखुराले

भयो जिन्दगानी जलेको खरानी
म बग्दैछु आफ्नै नयनका सुराले ।