इटहरी: १४ वर्षदेखि कलाकारिता क्षेत्रमा आफूलाई हिँडाइरहेका कलाकारको नाम हो दिनेश कोइराला । इटहरी निवासी उनी विशेषगरी मोडलिङमा आफूलाई स्थापित गराउन लागि परेका छन् । ७ वर्षसम्म काठमाडौंमा बसेर मोडलिङमा अनुभव बटुलेका उनी त्यसपछि कलाकारितासँगै व्यवसाय गर्नका लागि इटहरी आएका हुन् ।

इटहरी आएपछि पनि उनलाई एक दिन यो देशमा स्थापित कलाकार बन्छु भन्ने भूत सवार भइ नै रह्यो । फलस्वरूप उनी निरन्तर मोडलिङमा जमिरहेका छन् । पूर्व क्षेत्रबाट बन्ने स्तरीय म्युजिक भिडियो र टेलिशृङ्खलामा उनले अभिनय गरेकै हुन्छन् । प्रदेश नम्बर १ मा हुने मोडलिङ सम्बन्धी कार्यक्रममा उनी प्रायः सहभागी भएको पाइन्छ नै । चलचित्रकर्मी महासङ्घ प्रदेश नम्बर १ को महासचिव पद पनि कुशलतापूर्वक निर्वाह गरिरहेका उनले नेपालका स्थापित गायक गायिकाहरूले स्वर दिएका गीतमा मोडलिङ गरेका छन् ।

dinesh koirala  (2)

०६४ सालमा उनले अञ्जु पन्तको स्वरले सजिएको ‘छाडी गयौ तिम्ले...’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेका थिए । राम्रै पारिश्रमिक लिएर मात्र म्युजिक भिडियोमा अभिनय गर्ने गरेको उनको भनाइ छ । ०६४ सालमा पहिलो म्युजिक भिडियोमा अभिनय गरेलगत्तै हाल जेल जीवन बिताइरहेका इटहरीकै चर्चित हास्यकलाकार प्रकाश ओझाको टेलिशृङ्खलामा उनले अभिनय गरे । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने टेलिशृङ्खलाबाट उनी दर्शकसामु परिचित भए ।

उनले इटहरी आएपछि झिल्के नामको नेपाली चलचित्रमा अभिनय गरे । सोचेअनुसार सो चलचित्रले सफलता नपाएको उनी बताउँछन् । राम्रो आशा गरेको प्रकाश सुब्बाको चलचित्र मिराज प्रदर्शनको पर्खाइमा रहेको उनले बताए ।

‘मिराज चलचित्रमा पूरै टिमले मेहनत गरेको छ, आशा छ यो चलचित्रको प्रदर्शनबाट आफूलाई कलाकारिता क्षेत्रमा थप चिनाउने छु ।’ उनले नायकको भूमिका निर्वाह गरेको रामसाइँली असारमा प्रदर्शनका लागि तयारी हुँदैछ । जसमा उनी चर्चित हास्य कलाकार बुद्धि तामाङसँग नायकको भूमिकामा देखिँदैछन् ।

उनले ठूला पर्दाका ५ वटा चलचित्रमा अभिनय गरेका छन् । ७० भन्दा बढी छोटा फिल्ममा अभिनयसँगै उनले हालसम्ममा २२ वटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । राजेश पायल राईले स्वर दिएका २ वटा, प्रमोद खरेलले स्वर दिएका २ वटा, मेलिना राईले स्वर दिएका २ वटा, कमल खत्री र महेश बुढाथोकी लगायत अन्य गायक÷ गायिकाहरूले स्वर दिएका गीतमा आफूले मोडलिङ गरेको उनी बताउँछन् ।

मेलिना राईको स्वरमा रहेको ‘मैले सुनेँ तिम्रो खबर अन्तै माया लायौ...’ बोलको गीतमा गरेको अभिनय निकै चलेको उनले बताए । उनले सोही गीतको म्युजिक भिडियोबाट अवार्डसमेत हात पारे ।

चलचित्रमा भन्दा म्युजिक भिडियोमा अभिनय गर्दा फरक आनन्द आउने उनी बताउँछन् । ‘३ देखि ५ मिनेटको गीतमा गीतमा स्टोरी पनि हुन्छ, सन्देश पनि हुन्छ । सोचेअनुसार आफूले भूमिका निर्वाह गर्न पनि सहज हुन्छ । अर्को तर्फ २ दिनदेखि बढी १ साताभित्रमा म्युजिक भिडियोको छायाङ्कन पनि सकिन्छ,’ उनी भन्छन्, ‘बढीमा २० दिनमा एउटा स्तरीय म्युजिक भिडियो तयार भई युट्युबमा अपलोड गर्न सकिन्छ । चलचित्रमा त्यस्तो हुँदैन ।’

अबका दिनमा प्रदेश १ मा स्तरीय चलचित्र बनाउनका लागि उत्कृष्ट लोकेसन हुनुका साथै कथावस्तुहरू पनि थुप्रै रहेकाले चलचित्रकर्मी महासङ्घको तर्फबाट स्तरीय चलचित्र निर्माण गरी केन्द्रबाट बन्ने चलचित्रहरूसँग प्रतिष्पर्धा गराउने योजना आफूसँग रहेको उनले बताए । केन्द्रमा रहेर कलाकारिता गर्नेहरूले काठमाडौं बाहिरकालाई कलाकार नै नठान्ने प्रवृत्तिको अन्त्यका लागि पनि आफू महासङ्घमा आबद्ध भएको उनको भनाइ छ ।

dinesh koirala  (1)