बेलबारीः मोरङको बेलबारी वडा नम्बर ९ बाहुनीमा रहेको जनता माविको लागि आएको रकम फ्रिज हुन नदिन बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले चासो देखाएका छन् ।
विगत केही दिनदेखि मेयर सुवेदीले बजेट फ्रिज हुन नदिन राजनीतिक दल, नागरिक समाज र शिक्षकहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन । सभाहल सहितको २ तले भवनका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेपछि मेयर सुवेदीले शनिबार नेपाली काङ्ग्रेस बेलबारीका नेताहरूसँग छलफल गरेका छन् ।
नमूना विद्यालयका लागि आएको रकम विद्यालयको खातामा जम्मा हुनुपर्ने र स्वीकृत योजनाका लागि खर्च हुनुपर्ने प्रावधान भएको भन्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तारावीर कट्वालले नगरपालिकाले लगाएको बोलपत्र खारेजको माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए ।
नगरपालिकाले गरेको बोलपत्र (टेण्डर) रोक्न उच्च अदालतले बैशाख ३१ गते अन्तरिम आदेश दिएपछि डेढ करोड रकम फ्रिज हुने अवस्थामा पुगेको थियो । आर्थिक वर्षको अन्त्यमा आएर मुद्दा परेपछि मेयर सुवेदीले सक्रिय भएर चासो देखाएका हुन् । नमूना विद्यालयका लागि आएको रकम विद्यालयकै खातामा पठाउनुपर्ने माग राख्दै नेपाली काङ्ग्रेस नगर समितिले समेत नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।
नमूना विद्यालय सञ्चालन निर्देशिकाअनुसार विद्यालय व्यवस्थापन समिति नभएको, नमूना विद्यालय सञ्चालन गर्न प्रअसँग छुट्टै करार सम्झौता नभएको, नमूना विद्यालयकोे छुट्टै खातालगायतका सूचकसमेत विद्यालयले पूरा नगरेको बताइएको छ ।
विद्यालयले नमूना विद्यालय सञ्चालन कार्यविधि नबनाएको र स्वीकृतिसमेत नलिएको उनले बताए । छलफलमा सहभागी काङ्ग्रेसका नगर सभापति शम्भु भट्टराईले बजेट फ्रिज हुन नदिन मेयरले देखाएको भूमिकाले सहजता भएको बताएका छन् ।
सभाहलसहितको २ तले प्रशासनिक भवन बनाउनका लागि डीपीआरसमेत निर्माण भई कामको प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम जिल्लास्तर, नेपाल सरकार स्रोत भर्ना र शर्त अुनदान शीर्षकमा डेढ करोड बजेट आएको थियो ।