धरानः ह्वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले चीनको सान्यामा इन्टर्नसीप सकेर आएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।
होटल व्यवस्थापनमा डिप्लोमाको अध्ययन पूरा गरी एक वर्ष सान्यामा रहेका फाइभ स्टार होटलहरू क्राउन प्लाजा, रेफिल्स, सेन्ट रेगिस र क्याक्टस रिसोर्टमा २५ जना विद्यार्थीले आफ्नो इन्टर्नसीप सकेर आएका हुन् । विद्यार्थी डिल्ली पोखरेलले क्याकटस रिजोर्ट सान्या होटलले प्रदान गरेको बेस्ट इन्टर्नसीप अफ दी इयर २०१८ अवार्ड जितेर २ हजार युआन तथा सिङ्गापुरको भ्रमणको अवसर पाएकाले उनलाई विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी, मासिक रूपमा ४५ हजार रुपैयाँदेखि ८० हजारसम्म भत्ता थाप्ने विद्यार्थी सन्ध्या श्रेष्ठलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानित विद्यार्थी डिल्ली पोखरेलले सान्याको इन्टर्नसीप एकदमै सफल रहेको र आफूले त्यहाँ धेरै कुरा सिकेर आएको बताए । अहिले सान्याको होटलले आफूलाई रोजगारीको लागि पुनः आमन्त्रण गरिरहेको तर आफू अमेरिकाको पाँच तारे होटलको अन्तर्वार्तामा पास भएकाले अमेरिका जाने तयारी रहेको उनले बताए ।
बढी भत्ता थाप्ने विद्यार्थी सन्ध्या श्रेष्ठले मिहिनेत गरेर अघि बढे जहाँ पनि सफल भइने बताइन् । इन्टर्नसीपमा सहभागी विद्यार्थीले इन्टर्नसीप सफल भएको बताएका थिए । कलेजले ओटीएचएम र सीटीईभीटी तथा कलेजको सर्टिफिकेट यसरी कार्यक्रम गरेर बाँड्नु खुशीको कुरा भएको बताएका थिए ।
इन्टर्नसीपमा गएर आएका विद्यार्थीलाई स्वदेश तथा विदेशका पाँच तारे होटलमा रोजगारीको अवसर प्रदान गर्नको लागि आन्तरिक तयारी भइरहेको ह्वाइट हाउसका सीईओ अरुण प्रधानले बताए ।